१० असार, दमक ।
झापाको शिवसताक्षी नगरपालिकाको १२ औँ नगरसभा स्थगित भएको छ ।
आइतबार सुरु भएको नगरसभामा शिवसताक्षीका पाँच जना वडा अध्यक्षसहित आठ जना नगरसभा सदस्यहरुले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रम तथा बजेटमा फरक मत राखेपछि नगरसभा स्थागित भएको हो ।
आगामी असार १३ गते दिउँसो १ बजे पुनः बस्ने गरी नगर सभा स्थगित भएको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष एवम् नगरका प्रवक्ता बहादुर आङ्बोले जानकारी दिए ।
नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरु भाष्कर न्यौपाने, मनोज खुलाल, भवानी बिक्रम चेम्जोङ, सन्तकुमार फेउदिन र डिल्ली फेम्बुले नगरसभामा नगर प्रमुख रोशन थोप्राले ल्याएको बजेटमा फरक मत राखेका थिए ।
साविकको वडा सिलिङ बजेट ७५ लाखबाट घटाएर ४० लाखमा झार्नु न्यायोचित नभएको भन्दै फरक राखेका थिए ।
वडा अध्यक्षहरुले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट उत्पादन र परिणाममुखी नभएको भन्दै नीति कार्यक्रम तथा बजेटमा संशोधन हुनुपर्ने माग राखेका छन् ।
वडा र नगरले सञ्चालन गरेका ठूला योजनाहरूको निर्माण सम्पन्न गर्न बजेटको सुनिश्चितता गरिनुपर्ने, उत्पादनमुखी योजना र कार्यक्रमलाई प्राथमिकतामा राखिनुपर्ने उनीहरूले ती वडा अध्यक्षहरुको भनाइ छ ।
वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनले नगर प्रमुख मेघाहाङ थोप्राले हचुवा, मनलाग्दी र अनुत्पादक योजनाका लागि बजेट छुट्याएको आरोप लगाएका छन् । उनले भने –‘यो बजेट कर्मकाण्डीको रूपमा मात्र आएको छ ।’
नगरसभा स्थगन हुनु भन्दा अगाडि शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले आगामी आ.व.का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
उपप्रमुख नरमाया कार्कीले नगरसभामा आगामी आ.व. को लागि १ अर्ब २१ करोड ४० लाख ६६ हजार बराबरको बजेट प्रस्ताव गरेकी थिइन् ।


