नागरिक उन्मुक्ति वार्तामा जाने
१३ असार, दमक ।

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले प्रदेश सरकारको वार्ता टोलीसँग आज बुधबार बस्ने तय भएको वार्तामा सहभागी नहुने जनाएको छ ।
संयुक्त संघर्ष समितिले विज्ञप्ति जारी गरेर बुधबारको वार्तामा सहभागी नहुने जनाएको हो ।
साथै, उसले सरकारी वार्ता टोलीले वार्ताका लागि अन्योलपूर्ण वातावरण बनाएको आरोपसमेत लगाएको छ । आफूसहित पहिल्यै दुई पक्षीय वार्ता तय भएको अवस्थामा सरकारले ‘अर्को पक्ष’लाई समेत डाकेको भन्दै संघर्ष समितिले सरकारी पक्षसँग वार्ता नबस्ने जनाएको हो ।
‘तेस्रो पक्ष’ भनी उल्लेख गरिए पनि समितिले कुन पक्ष हो भन्ने बारे स्पष्ट खुलाएको भने छैन ।
हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारले गठन गरेको वार्ता टोलीले भने मंगलबार १ बजेकै समय तोकेर रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (एकीकृत)लाई समेत वार्तामा आउन भनी सोमबार पत्राचार गरेको थियो ।
सो पार्टी कोशी नाम खारेजीको आन्दोलनमा सहभागी रहँदै आएको भए पनि संयुक्त संघर्ष समितिको घटकका रूपमा भने आबद्ध गराइएको छैन । संघर्ष समितिको बैठकहरुमा भने पार्टीलाई डाक्ने गरिएको नागरिक उन्मिुक्तिका केन्द्रीय उपाध्यक्ष अशोक चेम्जोङको भनाइ छ ।
चेम्जोङका अनुसार उपाध्यक्ष इन्दिरा मेन्याङ्बोको नेतृत्वमा सचिव त्रिनारायण राजवंशी, सह सचिव पदम अधिकारी, फक्ताङलुङ योङहाङ र केन्द्रीय सदस्य भगिराज तुम्सालाई प्रदेश सरकारले डाकेको वार्तामा सहभागी हुन जिम्मेवारी दिइएको हो ।
यत संयुक्त समितिले भने मंगलबार सोही विषयलाई लिएर वार्तामा नबस्ने जनाउसहित जारी गरेको विज्ञप्तिमा भनिएको छ –‘सरकार स्व्यम्ले यस अन्योलतालाई चिर्दै वार्ताको वातावरण नबनाएसम्म ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ वार्तामा बस्न नसकिने यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’
प्रदेश सरकारको वार्ता टोली र संघर्ष समितिको वार्ता टोलीबीच गत असार ४ गते पहिलो चरणको वार्ता भएको थियो । बिना निष्कर्ष टुङ्गिएको सो वार्ताले असार १३ गते दोस्रो चरणको वार्ताका लागि मिति तय गर्ने बारे भने सहमति बनाएको थियो ।
एमाले नेतृत्वको कार्की सरकारले प्रदेशको नाम कोशी पारित गाराएपछि गत फागुन १७ गतेदेखि प्रदेश राजधानी बिराटनगर र प्रदेशभरका विभिन्न ठाउँहरुमा सो नाम खारेज गर्नुपर्ने मागसहित विरोध प्रदर्शन र आन्दोलनका विभिन्न कार्यक्रम हुँदै आएका छन् ।
आन्दोलनका क्रममा प्रहरीको लाठी प्रहारबाट चैत ५ गते गम्भीर घाँइते बनेका पदमकुमार लिम्बू लाजेहाङको चैत १० गते उपचारका मृत्यु भएको थियो । लिम्बूलाई नेपाल सरकारले सहिद घोषणा गरेको छ ।



