१४ असार, दमक ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आज बिहीबार प्रदेश १ को प्रदेश सभामा बैठकमा तटस्थता रहने भएको छ ।
आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदै छन् । विश्वासको मतका लागि हुने मतदान प्रक्रियामा जसपाले पक्ष वा विपक्ष कतै मत नदिने भएको छ ।
जसपा प्रदेश १ अध्यक्ष दिपक याक्खाले बिहीबार जारी गरेको विज्ञप्तिमा पहिचान समाप्त पारेर प्रदेश १ को नाम कोशी नामाकरण गराएको भन्दै मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन नसकिने उल्लेख छ ।
पहिचानको आधारमा प्रदेशको पुनः नामाकरण हुने राजनीतिक आधार तयार नभएसम्म जसपाले पक्ष वा विपक्ष कतै पनि मतदान नगर्ने र तटस्थताको नीति लिने विज्ञप्तिमा जनाइएको छ ।
संसदीय अंकगणित अनुसार एमाले ४० र राप्रपा ६ गरी कार्कीको पक्षमा ४६ मत देखिन्छ । त्यस्तै प्रतिपक्षीतर्फ नेपाली कांग्रेस २९, नेकपा माओवादी १३ (एक सभामुखसमेत) र नेकपा एकीकृत समाजवादीसँग ४ गरी ४६ मत पर्ने सम्भावना छ ।
प्रदेश १ को प्रदेश सभामा जसपा तटस्थ बस्दा कतै पनि बहुमत नपुग्ने देखिन्छ ।
मुख्यमन्त्री कार्कीले भने प्रतिपक्षी कांग्रेस, माओवादी केन्द्रलगायत दलहरुलाई मत माग्दै पत्राचार गरेका छन् ।


