२५ असार, दमक ।

माङमालुङ चिया बगान लिमिटेड इलामको २६ औं र २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आइतबार दमक ८ स्थित कञ्चनजंघा बहुउदेश्यीय सहकारी संस्थाको हलमा चिया बगानले २६ औं र २७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभामा वगानका अध्यक्ष किरण मुकारुङले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बगानको लेखा समितिको तर्फवाट प्रस्तुत लेखा प्रतिवेदन छलफलपछि संशोधन सहित पारित गरेको सञ्चालक समिति सदस्य देवेन्द्र रेग्मीले जानकारी दिए ।
सभामा कम्पनीको प्रवन्ध पत्र तथा नियमावली समय सापेक्ष संशोधन गर्ने प्रस्ताव पारित गरिएको बताइएको छ ।
वार्षिक साधारण सभाका प्रमुख अतिथि प्रदेश सभा सदस्य होमबहादुर थापाले चिया नगदे वाली भए पनि मुलुककै आर्थिक विकासका लागि ठूलो सम्भावना बोकेको बाली भएको बताएका थिए ।
उनले चियालाई पर्यटनसँग जोडेर यसको उत्पादन वृद्धिमा तीनै तहको सरकारले सहयोग गर्नुृ पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा पूर्व प्रदेश सभा सदस्य अर्जुन राई, माडसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, सञ्चालक सदस्य रेग्मी लगायतले चिया बगानको अवस्था सम्भावना र चिया पर्यटनको परियोजना ल्याउनु पर्ने धारणा राखेका थिए ।
२०५१ साल असार २६ गते पब्लिक कम्पनीमा दर्ता भएको यस चिया बगान अर्थोडक्स चिया क्षेत्रमा निजी बगानको रूपमा मुलुककै अग्रस्थानमा रहेको छ । पाँच सय ५४ जना शेयर सदस्य रहेका सञ्चालक समिति सदस्य केन्द्र प्रसाईले जानकारी दिए ।

