२८ असार, दमक ।

समाजसेवी सन्तकुमार बान्तावाको स्मृतिमा तयार पारिएको स्मृति ग्रन्थ ‘स्वर्णपुरुष सन्तकुमार बान्तावा राई’ पुस्तकको बुधबार एक समारोहका बीच लोकार्पण गरिएको छ ।
कमल ५ पाडाजुङ्गीको रोडस्टार पार्टी प्यालेसमा दमकका शिक्षासेवी एवम् सामजिक अगुवा मनोजकुमार साङपाङको प्रमुख आतिथ्यतामा आयोजित समारोहका बीच पुस्तक लोकार्पण गरिएको हो ।
कार्यक्रममा स्थानीय सामाजिक व्यक्तित्वहरु, शिक्षासेवीहरु, बान्तावाका आफन्त जन, किरात राई यायोक्खाका विभिन्न तहका नेताहरु र संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
संविधानसभा सदस्य विश्वदिप लिङ्देन, पूर्व प्रदेश सभा सदस्य अर्जुन राई, नेपाल प्रज्ञा प्रतिष्ठानकी प्रज्ञा सभा सदस्य सुमित्रा वाङ्देल चेलीलगायतले शुभकामना व्यक्त गरेको कार्यक्रममा राई वान्तावा भाषाको भाषिक पत्रिका बुङ्वाखा सम्पादन गर्दै आएका पदम राईले पुस्तक बारे टिप्पणी गरेका थिए ।
पुस्तकमा स्वर्गीय बान्तावाको विभिन्न पक्षमा ४६ वटा लेख समावेश छन् । जसमा सन्तकुमार राई बारे पारिवारिक दृष्टिबाट, विद्वत् वर्गाबाट र समाजिक दृष्टिले चर्चा गरिएको छ ।
श्रीमती कृष्णकुमारी राई र छोराहरु कमलकुमार राई, गणेश राई र भिष्म राईले प्रकाशन गरेको पुस्तक साङ्गेन राईले सम्पादन गरेका हुन् ।

