१५ साउन, दमक ।

सरकारी क्वार्टरमा युवतीसँग अनैतिक हर्कतमा संलग्न रहेका दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाको बचाउमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा नै लागेको आरोप लागेको छ ।
आइतबार नेकपा एमालेबाट निर्वाचित दमक नगर कार्यपालिकाका १५ जना कार्यपालिका सदस्यहरुले यस्तो आरोप लगाएका हुन् ।
युवतीसँग दमक नगरपालिका हाताभित्रकै सरकारी क्वार्टरमा अस्लिल हर्कतमा संलग्न भएको भिडियो सामाजिक सञ्जालबाट बाहिरिसकेपछि घटनामा संलग्नमाथि कारबाही प्रक्रिया अगाडि बढाउनको साटो क्वार्टरभित्र लगाइएको हरियो रङ मेटाउन पहेँलो रङ पोतिएको घटनालाई एमाले निकट नगर कार्यपालिका सदस्यहरुले घटना ढाकछोपका लागि उद्धत रहेको भनी आरोप लगाएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत निरौला नगर प्रमुख थापाका नातेदार हुन् ।
जारी विज्ञप्तिमा भनिएको छ – ‘सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरुमा यस विषयमा भिडियो तथा यस सम्बन्धि टिका टिप्पणी आइरहँदा नगर कार्यपालिकाको आपतकालीन बैठक तत्काल बस्न माग गर्दा पनि नगरपालिकाका प्रमुख रामकुमार थापाले बेवास्ता गर्दै घटना ढाकछोप गर्ने उद्देश्यका साथ उक्त घटना भएको कोटामा रंग रोगन गरी घटनालाई ढाकछोप गर्न उद्धत भएको देखिन्छ ।
नगर प्रमुखको कार्यशैलीको विरोध गर्दै हस्ताक्षर गर्नेहरुमा एमाले सम्बद्ध दमक नगरपालिका वडा नम्बर १, ३, ५, ६, ८ र ९ का वडा अध्यक्षहरु क्रमशः हरि न्यौपाने, नवीन बराल, इन्द्रबहादुर गुरुङ, टेकबहादुर थापा, धर्मप्रसाद दाहाल (दिपेश) र कुबेर भट्टराई छन् । विज्ञप्तिमा नाम उल्लेख भए पनि वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटाको हस्ताक्षर भने छैन ।
त्यस्तै कार्यपालिका सदस्यहरु लोकबहादुर धिमाल, शारदा भट्टराई सापकोटा, ख्यामकुमारी परियार, गौतम गुप्ता, शेरबहादुर गजमेर, कमला खाती, बिना साहा छन् । विज्ञप्तिमा नाम उल्लेख भए पनि देवका भूजेलको हस्ताक्षर छैन ।
कार्य पालिका सदस्यहरुको तर्फबाट जारी विज्ञप्तिमा सरकारी क्वार्टरमै युवतीसँग अस्लिल हर्कत गर्दैगरेको भिडियोमा देखिएका प्रमुख प्रशासकीय अधिकृत निरौलालाई नगरपाकिलामा प्रवेश तथा हाँजिर गर्न रोक लगाउन माग गरिएको छ । त्यस्तै सो विषयमा छानबिन गर्न र आवश्यक कारबाही प्रक्रिया अघि बढाउन उनीहरुले सम्बन्धित मन्त्रालयलाई अनुरोध गरेका छन् ।
घटनाले दमक नगरपालिकाको प्रतिष्ठामा गम्भीर असर पारेको भन्दै विज्ञप्तिमार्फत जनप्रतिनिधिहरुले तत्काल कार्यपालिका बैठक बोलाएर नगरपालिकाको धारणा सार्वजनिक गर्न नगर प्रमुख थापासमक्ष माग समेत गरेका छन् ।
दमक नगरपालिकाका प्रवक्ता समेत रहेको दमक ८ का वडा अध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश) ले आफूले पनि आइतबार बिहान क्वार्टरमा रङ लगाउँदै गरेको भन्ने सूचना पाए लगत्तै संवेदनशील अवस्थामा थप विवादित काम गर्नु हुँदैन भनेर नगर प्रमुख थापासँग रङ लगाउने कार्य तत्काल रोकौं भनेर सुझाव दिएको बताए । ‘मैले रङ लगाएको विषय थापा पाउँदै यसले नगरपालिकामाथि थप शंका उत्पन्न हुन्छ, यस्तो काम नगरौं मेयरज्यू भनेर अनुरोध गरेको हो । तर, उहाँले त्यो काम रोक्न लगाउनु भएन , दाहालले भने ।
क्वार्टरमा रङ रोगन गर्ने बारे कार्यपालिका वोर्डमा कुनै विषय नउठेको र सो खर्चको सोधभर्ना कुन शीर्षकबाट हुने भन्ने विषयमा प्रवक्ता दाहालले अनविज्ञता प्रकट गरे । उनले भने –‘दमक नगरपालिका र समग्र नगवासीको प्रतिष्ठामा आँच आउने गरी मिडिया र सामाजिक सञ्जालहरुमा विषय आउँदा र तत्काल वोर्ड बैठक डाक्न सुझाव दिँदासमेत मेयरज्यूले बैठक डाक्ने इच्छाशक्ति देखाउनु भएन । अब रङ रोगनको विषय र खर्च बारे जवाफ उहाँले नै दिनु हुन्छ होला ।
कारबाहीका लागि मन्त्रालयमा पत्राचार : नगर प्रमुख थापा
आइतबार नै सो घटनाका विषयमा सत्यतथ्य बुझी आवश्यक कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा पत्राचार गरिएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
थापाले जारी गरेको विज्ञप्तिमा दमक नगरपालिका र नगरवासीहरुको प्रतिष्ठासँग जोडिने कुनै पनि विषयमा आँच आउन नदिन नगरपालिका सदैव सचेत रहने भनिएको छ ।
तर, विज्ञप्तिमा निरौला बारे नगरपालिकाले के तथ्य प्राप्त भएको हो ? भन्ने बारेमा उल्लेख गरिएको छैन ।
सामाजिक स२जाल र सञ्चार माध्यमहरुमा प्रमुख प्रशासकीय अधिकृतको नाम जोडिएर आएको पोष्ट र समाचारप्रति नगरपालिकाको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।



