१५ साउन, दमक ।

सरकारी क्वार्टरमा युवतीसँग अस्लिल हर्कतमा संलग्न भएका दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएको छ ।
निरौलालाई मन्त्रालयले २४ घण्टाभित्र मन्त्रालयमा हाँजिर हुन भन्दै परिपत्र गरेको हो ।
‘गोप्य/अन्त्यन्त जरुरी’ भनिएको सो पत्रमा भनिएको छ –‘तपाईसँग केही कुरा बुझ्नु पर्ने भएको हुँदा २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित हुन मिति २०८०/०४/१५ को निर्णयानुसार अनुरोध छ ।’
निरौलासँगै उनको क्वार्टरमा मदिरा पिएर लठ्ठै बनेकी ती युवतीले आफ्नो टिकटक लाइभमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् ।
टिकटकमार्फत सार्वजनिक भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि सुरुमा निरौलाले सो भिडियो काठमाडौंमा जन्म्दिन मनाउने क्रममा समूहमा खिचिएको प्रतिक्रिया दिएका थिए । तर, लगत्तै उनले आइतबार बिहान क्वार्टरभित्र साविक हरियो रङ छोपिने गरी पहेँलो रङ लगाउन लगाएका थिए ।
रङ लगाउँदै गरेको फोटो र भिडियो नेकपा माओवादी केन्द्रको युवा दस्ता वाइसीएलले सार्वजनिक गरेको थियो भने त्यसको केही समयपछि एमालेनिकट युवा संघ नेपालको टोलीले निरौलालाई दमक नगरपालिका प्रवेश निषेधको चेतावनीसहित क्वार्टरमा तालाबन्दी गरेको थियो ।
युवा संघले लगाएको सो ताला अहिले पनि खुलेको छैन ।
घटना बारे विभिन्न सञ्चार माध्यमहरुबाट धमाधम समाचार आउन थालेपछि उनी सम्पर्क विहीन बनेका छन् ।
भाइरल भिडियो काण्ड बारे छानबिन गर्न माग
भोलि कार्यपालिका बैठक बस्दै

यसैबीच युवतीसँगको अनैतिक गतिविधि गरिरहेका निरौलाको भिडियो टिकटकमार्फत सार्वजनिक भइ भाइरल बनेपछि उनी दमक नगरपालिकाको सम्पर्क भन्दा बाहिर रहेको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले जानकारी दिएका छन् ।
मौखिक वा लिखित जानकारी बिना नै निरौला सम्पर्क बाहिर रहेको थापाले सोमबार कार्यपालिकाका सदस्यहरुलाई जानकारी दिएका हुन् ।
एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले प्रमुख थापालाई भेटेर प्रमुख प्रशासकीय अधिकृत निरौलाले क्वार्टरमै युवतीसँग गरेको अस्लिल हर्कतले दमक नगरपालिका र सिङ्गो दमककै बेइजत भएको भन्दै सो घटनाको आवश्यक छानबिन र दोषीहरु उपर कानूनी कारबाहीको सिफारिस गर्नु पर्ने मागसहित सोमबार ज्ञापन पत्र बुझाएका थिए ।
१५ जना कार्यपालिका सदस्यहरुले हस्ताक्षर गरेको ज्ञापन पत्र एमाले नेता एवम् दमक नगर कार्यपालिका सदस्य लोकबहादुर धिमालले प्रमुख थापालाई बुझाएको ज्ञापन पत्रमा निरौलाले सरकारी क्वार्टरभित्रै मदिराले लठ्ठिएर युवतीसँग अनैतिक गतिविधि गरेको भिडियो सम्बन्धमा र आइतबार प्रमाण मेट्ने अभिप्रायले क्वार्टरभित्र रङ रोगन गरेको विषयमा सुष्म अध्ययन गरी संलग्नहरुलाई कारबाहीका लागि माग गरिएको छ ।
ज्ञापन पत्र बुझेपछि प्रमुख थापाले सोही विषयमा छलफल गर्न मंगलबार बिहान ८ बजे नगर कार्यपालिकाको बैठक राखिएको जानकारी दिँदै भने –‘दोषीलाई कारबाही गर्ने प्रक्रिया अघि बढाइएकै छ । झन यसले चाहिँ अझ बढी मद्दत पुग्यो ।’
मन्त्रालयमा विषय खुलाएर परिपत्र गरिसकिएको भन्दै थापाले घटना अत्यन्त दुखद् भएको बताए ।
दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहाल (दिपेश) ले दमक नगरपालिकाको हाताभित्र भएको घटना हुनाले नगर प्रहरीको ड्युटी युनिटदेखि सिसी क्यामेराको फुटेजलगायत सबै जाँच गरेर जो जो संलग्न भएको पाइए पनि कारबाहीको दायरामा ल्याइने प्रतिवद्धता व्यक्त गरेका छन् ।



