सजन राई ॥
७ असोज,झापा । झापाको बाह्रदशीमा सम्पन्न प्रथम नवज्योती ओपन नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा ब्रदर्श एफसी दमक विजयी भएको छ ।
बाह्रदशी ६ स्थित किरात रङ्गशालामा आइतवार भएको खेलमा झापा एफसी राजगढलाई ३-५ गोल अन्तरले पाखा लगाउदै ब्रदर्श एफसी अर्को चरण प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइबेकरमा पुगेको थियो ।
ट्राइबेकरमा ब्रदर्श एफसीका तर्फबाट जंग खड्का, रोसन तामाङ, आशिष लावती, निश्चल बस्नेत र आदित्य तामाङ गोल गर्न सफल भए भने झापा एफसीका तर्फबाट तारानाथ राजवंशी, मानव पौडेल र अनिस लिम्बु मात्र गोल गर्न सफल भए ।
प्रतियोगिताको म्यान अफ द म्याच झापा एफसीका तारानाथ राजवंशी भए ।
खेल पछि हरप्रहर निउज डट कम सँग कुरा गर्दै ब्रदर्श एफसी दमकका टिम संयोजक कविध्वज राईले सम्पूर्ण खेलाडीहरुको मिहिनेत र संयोजनले जित निकाल्न सफल भएको जनाए । उनका अनुसार अझ राम्रो पक्ष डिफेन्स लाइन नै रह्यो । दोस्रो चरणको खेलमा कमि कमजोरी सुधार गर्दै अझ उत्कृष्ट खेल पस्कने छौ ।
“विविधतामा एकता, हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ सम्पन्न प्रतियोगिता बाह्रदशी किरात बस्तिमा २०६४ सालमा स्थापित नवज्योति युवा परिवारको मुख्य प्रायोजक रहेको र नवज्योति खेलकुद समितिले प्रतियोगिताको सम्पूर्ण आयोजनाको जिम्मा लिएको प्रतियोगिताको संयोजक एल.वि. लिम्बूले जानकारी दिए ।
असोज ६ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रू ३० हजार,प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रू २० हजार,प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछ ।
यसै गरी भोली हुने प्रतियोगितामा कन्काई एफसी र सैनिक ११ एफसी विच हुने प्रतियोगिताका प्रचारप्रसार प्रमुख अमृत ढिछाङ्छा वान्तावाले वताए ।