९ असोज, काँकडिभिट्टा ।
नेकपा (एकीकृत समाजवादी)ले असोज १४ गतेदेखि झापाको काँकडिभिट्टास्थित मेची पुलबाट सुरु गर्ने समाजवादी जागरण यात्रा बारे मंगलबार काँकडिभिट्टामा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेको छ ।
एकीकृत समाजवादी जिल्ला कमिटी झापा र मेचीनगर नगर कमिटीको संयुक्त आयोजनामा सम्पन्न अन्तरक्रियाका बीच समाजवादी जागरण यात्रा बारे जानकारी गराइएको थियो ।
जिल्ला कमिटी झापाका अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा र जिल्ला कमिटी झापाका इन्चार्ज भवम् समाजवादी जागरण यात्रा मूल समारोहका संयोजक पुष्पराज पोख्रेलको प्रमुख आतिथ्यतामा अन्तरक्रिया सम्पन्न भएको नेकपा (एस) निकट समाजवादी पत्रकार संगठनका झापा जिल्ला अध्यक्ष अनिलदेव राईले जानकारी दिए ।
अन्तरक्रियामा पत्रकारहरुले उठाएका विभिन्न विषयहरुमा नेताहरु पुष्पराज पोख्रेल, बेदराज रेग्मी, समाजवादी खेलकुद महासंघ प्रदेश अध्यक्ष एवम् समाजवादी जागरण यात्रा आर्थिक विभागका संयोजक शंकर थापा, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देलले जवाफ दिएका थिए ।
सोही अवसरमा नेकपा (एकीकृत समाजवादी) मेची नगर कमिटीले जागरण यात्राको तयारी र त्यसको व्यवस्थापनका बारेमा बैठक बसेर छलफल गरेको एकीकृत समाजवादी झापाका पूर्वल सचिव विपी भट्टराईले जानकारी दिएका छन् ।
जागरण यात्राको आवश्यक तयारीकै क्रममा सोमबार दमकमा तयारी बैठक बसेर छलफल गरिएको प्रेस संगठन झापा अध्यक्ष राईले बताए ।
जागरण यात्राका सहभागीको लागि स्वागत ब्यानर, दमक गणतन्त्र चौकमा पार्टीको झण्डा सजाउने, अपरान्ह हुने कोणसभाका लागि पिउने पानी सहित जागरण यात्राको उद्घाटनस्थल काँकडिभिट्टासम्म यातायातको व्यवस्थापन गर्ने लगायतका निर्णयहरु गरिएको उनले जानकारी दिएका छन् ।