१० असोज, काठमाडौं ।
१९ औँ एसियाली खेलकुदमा नेपालले क्रिकेटतर्फ हालसम्मकै सर्वाधिक कीर्तिमान बनाएको छ ।
नेपाली टोलीले नवप्रवेशी मंगोलियामाथि सहज जित निकाल्दै कीर्तिमानको चाङ नै बनाएको हो ।
चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनाएको थियो ।
३१५ रनको विशाल लक्ष्य पाएर जवाफी ब्याटिङमा मैदान उत्रिएको मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भएको थियो । नेपाल मंगोलियालाई २७३ रनको विशाल अन्तरले हराउन सफल भएको थियो ।
नेपालले बनायो ७ कीर्तिमान
नयाँ टोली मंगोलियासँगको खेलमा नेपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कम्तिमा ७ वटा विश्व रेकर्ड बनाउन सफल भएको छ ।
१. कीर्तिमानी स्कोर
नेपालले २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनाउन सफल भयो । टी–२० इन्टरनेशलनमा बनेको यो नै अहिलेसम्म सर्वाधिक स्कोर हो । यसअघि २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८÷३ को स्कोर बनाएको थियो भने ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीविरुद्ध २७८÷४ को स्कोर बनाएको थियो ।
२. सर्वाधिक रन रेट
नेपालले सर्वाधिक रन रेटको अर्को कीर्तिमान कायम गरेको छ । मंगोलियाविरद्ध ३१४ रन बनाएको नेपालको रन रेट १५.७ प्रति ओभर हो । २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध १३.९ प्रति ओभरको रन रेट बनाउन सफल भएको थियो ।
३. सर्वाधिक छक्का
बुधबारको खेलमा नेपालले बनाएको अर्को कीर्तिमान सर्वाधिक छक्का प्रहार हो । ३१४ रनको स्कोर कायम गर्ने क्रममा नेपाली ब्याट्सम्यानले कुल मिलाएर २६ वटा छक्का प्रहार गरेका थिए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो नयाँ कीर्तिमान हो । यसअघि चेक रिपब्लिकका ब्याट्सम्यानले ३० अगष्ट २०१९ मा टर्कीविरुद्ध २७८ रन बनाउँदा २२ छक्का प्रहार गरेका थिए ।
४. कुशलको कीर्तिमानी शतक
मंगोलियाविरुद्धको विशाल स्कोर बनाउने क्रममा नेपाली ब्याट्सम्यान कुशल मल्लले अर्को कीर्तिमान बनाउन सफल भए । उनले मात्र ३४ बलमा शतक प्रहार गरेका हुन् । मल्लले यस अघिको दक्षिण अफ्रिकी ब्याट्सम्यान डेभिड मिलरको कीर्तिमान तोडेका हुन् । मिलरले २९ अक्टोबर २०१७ मा बंगलादेशविरुद्ध ३५ बलमा शतक बनाएका थिए ।
५. ऐरीको नाममा नयाँ कीर्तिमान
मंगोलियाविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले पनि विश्व कीर्तिमान बनाए । उनले मात्र ९ बलमा अर्धशतक बनाएर टी–२० आईमा सबै भन्दा कम बलमा ५० रन बनाउने व्याट्सम्यान बने । यसअघि भारतका युवराज सिंहले १९ सेप्टेम्बर २००७ मा इङ्ल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।
६. स्ट्राइक रेटमा ऐरीको अर्को कीर्तिमान
बुधबार ऐरीको नाममा उच्च स्ट्राइक रेटको अर्काे कीर्तिमान थपिएको छ । उनले मात्र १० बलमा अविजित ५२ रन बनाउँदा उनको स्ट्राइक रेट ५२०.०० कायम भएको हो । यसअघि यो रेकर्ड वेष्ट इण्डिजका डवेन स्मिथको नाममा थियो । १३ सेप्टेम्बर २००७ मा बंगलादेशविरुद्ध मात्र ७ बलमा २९ रन बनाएका उनको स्ट्राइक रेट ४१४.२८ रहेको थियो ।
७. ठूलो अन्तरको जित
नेपालले मंगोलियालाई २७३ रनले हराएर टी–२० इन्टरनेशनलमा हालसम्मकै ठूलो अन्तरको जितको कीर्तिमान रच्न सफल भएको हो । यसअघि ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराएर कीर्तिमान बनाएको थियो ।
(एजेन्सीहरुको सहयोगमा)