११ असोज, झापा ।

झापाको बाह्रदशी रङ्गशालामा जारी प्रथम नवज्योति ओपन नकआउट फुटबल प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा कट्टरडाँगी एफसीलाई पाखा लगाउँदै सैनिक एफसी प्रतियोगिताको अन्तिम चारमा पुगेको छ ।
छैटौं दिन बिहिबारको खेलमा कट्टरडाँगीलाई १–५ गोल अन्तरले पाखा लगाउँदै सैनिकले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।
बाह्रदशी ६ स्थित किरात रङ्गशालामा जारी प्रतियोगितामा सैनिकका लागि जर्र्सी नम्बर २३ का अभिषेक गुरुङ र ९ का पाल्देन घलेले समान २–२ गोल गरे भने जर्सी नम्बर ६ का प्रसान्त लाम्गादेले १ गोल गरेका थिए । कट्टरडाँगीको तर्फबाट भने जर्सी नम्बर १९ का रुपेश लिम्बूले सान्तवना १ गोल फर्काएका थिए ।
खेलको म्यान अफ दी म्याच सैनिक ११ एफसीका जर्सी नम्बर २३ अभिषेक गुरुङ भए । उनले पुरस्कार वापत ट्रफी र नगद पाँच सय प्राप्त गरे । म्यान अफ द म्याचको सम्पूर्ण पुरस्कार राशी अमेरिका निवासी भरत डी संग्रौलाले प्रायोजन गरेका बताइएको छ ।
जारी प्रतियोगितामा शुक्रबारबाट सेमिफाइनलका खेलहरु हुने आयोजक संस्थाका प्रचार प्रसार प्रमुख अमृत ढिछाङ्छा बान्तावाले जानकारी दिएका छन् ।
जस अन्तर्गत फाइनल चरण प्रवेशका लागि सैनिक ११ एफसी र जलथल एफसीबीच पहिलो खेल हुने छ भने ब्रोदर्श एफसी दमक र त्रिवेणी एफसीबीच अन्तिम खेल हुने छन् ।
असोज ६ गते सुरु भएको प्रतियोगता असोज १४ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताका विजेताले नगद ३० हजार, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद २० हजार, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ ।



