२४ कात्तिक, काठमाडौं ।
इजरायलको जोखिम क्षेत्रमा रहेका थप ७२ जना नेपाली विद्यार्थीको उद्धार गरिएको छ ।
इजरायलस्थित नेपाली दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार उत्तरी सिमाना आसपासमा रहेका ७२ जना नेपाली विद्यार्थीहरुलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको हो ।
यसअघि सोमबार इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्र समेतको सहयोगमा उद्धार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको दूतावासले जनाएको थियो ।
इजरायलबाट नेपाल फर्कन इच्छुक ३५० भन्दा बढीले अनलाइन रजिस्ट्रेसन गरिसकेको जनाउँदै दूतावासले उनीहरुको सुरक्षित स्वदेश फिर्तीको प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ ।
दूतावासका अनुसार हमास समूहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार हुँदैछ । हराइरहरेको एक जना नेपाली विद्यार्थीको खोजी कार्य जारी रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
दूतावासले इजरायलवासी सम्पूर्ण नेपाली नागरिकहरुलाई संयम रहँदै निरन्तर दूतावाससँग समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरेको छ ।