२५ असोज, दमक ।
सत्ता गठबन्धन दलहरुले कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई समर्थन गर्ने भएका छन् ।
केन्द्रीय सरकारमा रहेका र समर्थक दलहरुले बिहीबार कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका आङ्बोलाई समर्थन गर्ने निणय गरेका हुन् ।
आङ्बो यस अघि शेरधन राई र राजेन्द्र राईका पालामा दुई पटक आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए ।
बैठकपछि जारी संयुक्त विज्ञप्तिमा संविधानको धारा १६८ को (५) बमोजिम अब गठन हुने प्रदेश सरकारको मुख्यमन्त्रीमा आङ्बोलाई समर्थन गर्ने निर्णय भएको उल्लेख छ ।
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डे, जसपा संसदीय दलका प्रमुख सचेतक प्रदिप यादव, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
प्रदेशको नाम कोशी नामाकरण भएपछि सो नाम हटाएर पहिचानमा आधाररित पुनः नामाकरण गर्नुपर्ने माग सहित निरन्तर आन्दोलन चर्किएपछि प्रदेशको सत्ता राजनीति अस्थीर बन्दै आएको छ । आन्दोलनकारीको दबावका कारण बलियो बहुमत पाएर मुख्यमन्त्री बनेका एमालेका हिक्मत कार्की सत्ताच्युत भए ।
त्यसपछि काँग्रेसका उद्धव थापा लगातार एक–एक महिना दुई पटक मुख्यमन्त्री नियुक्त भए पनि पछिल्लो पटक उनलाई सर्वोच्च अदालतले पदमुक्त गर्दै संविधानको धारा १६८ को (३) अनुसार हिक्मत कार्कीलाई नै मुख्यमन्त्री हुने आदेश गरेको थियो ।
तर, गत असोज २० गते विश्वासको मत लिने वातावरण नबनेपछि कार्कीले राजीनामा दिएका थिए । उनको राजीनामा लगत्तै प्रदेश प्रमुख परशुराम खापुङले धारा १६८ को (५) बमोजिम भोलि शुक्रबारसम्म नयाँ सरकार गठनका लागि दलहरुलाई समय सीमा दिएका छन् ।
प्रदेशमा एमाले ४० (सभामुखसहित), काँग्रेस २९, माओवादी १३, राप्रपा ६, एकीकृत समाजवादी ४ र जसपा १ गरी ९३ जना प्रदेश सभा सदस्य छन् ।
धारा १६८ को (५) अनुसार अब गठन हुने प्रदेश सरकारमा आङ्बोलाई एमाले बाहेका दलले समर्थन गर्ने अनुमान गरिएको छ ।