कविध्वज राई
२७ असोज, दमक ।

आइतबारदेखि झापाको दमकमा दोस्रो रोयल महिला फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक रोयल स्पोटिङ क्लबको प्रतियोगिताको अन्तिम तयारी सकिएको जानकारी गराउँदै शनिबार पत्रकार सम्मेलन गरेको हो ।
‘मेरो गोल महिला हिंसाविरुद्ध बोल’ भन्ने नाराका साथ प्रतियोगिता आइतबारदेखि कार्तिक ५ गतेसम्म दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने छ । प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाउने खेल संयोजक राजु खड्काले जानकारी दिए ।
प्रतियोगितामा नवबुद्ध फुटबल क्लब सप्तरी, सिएफसी काठमाडौं, धरान महिला फुटबल क्लब सुनसरी, टसी ब्वाइज क्लब मोरङ, भोजपुर नगरपालिका, बिवाइसी इलाम, बसाह फुटबल क्लब उदयपुर र आयोजकले सहभागिता जनाउने छन् ।
प्रतियोगिताका विजेता टोलीले नगद ५० हजार, ट्रफी, मेडल पाउने छन् । त्यस्तै उपविजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल र प्रमणपत्र पाउने आयोजक रोयल स्पोटिङ क्लबका अध्यक्ष जनार्दन मैनालीले जानकारी दिए ।
प्रतियोगिताका विधागततर्फ उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने र करिब पाँच लाख ७५ हजार खर्च लाग्ने अनुमान आयोजकको छ ।
महिला फुटबल प्रतियोगिता निरन्तर आयोजना गर्दा महिला खेलाडी उत्पादनमा टेवा पुग्ने आयोजकको भनाइ छ । क्लबले यसअघि २०७८ मा पहिलो महिला फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।

