
सजन राई । २७ असोज ,दमक ॥ झापाको दमकमा सञ्चालित बुदन राई र विवेक कुमाल स्मृति छैटौँ दमक-१ फुटबल लिग प्रतियोगिताको उपाधि म्याडडग्सले जितेको छ ।
दमक-१ भाङबारी स्थित भृकुटी माविको खेल मैदानमा सञ्चालित प्रतियोगिताको फाइनल खेलमा डाइनामिक युथलाई १-० गोल अन्तरको साँघुरो जित निकाल्दै म्याडडग्स च्याम्पियन बनेको हो ।
खेलमा पाएको अवसरहरु दुवै टोलिले सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।
सुरु देखि खेलमा हावि भएको म्याडडग्सले दोस्रो हाफको १०औँ मिनेटमा डेविड सुब्बाको गोलबाट अग्रता लियो । जुन गोल नै निर्णायक बन्यो । जसमा शुसान्त कार्कीले उत्कृष्ट असिस्ट प्रदान गरेका थिए । निर्धारित समयमा कुनै पनि गोल हुन नसकेपछि खेल १-० को अन्तरमा सकिएको थियो ।
विजेता बनेका म्याडडग्सले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारे भने उपविजेता डाइनामिक युथले २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

अन्य व्यक्तिगत विधातर्फ डाइनामिकका रोहन माझी उत्कृष्ट गोलरक्षक र म्याडडग्सका विशाल क्षेत्री उत्कृष्ट डिफेन्डर चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार चम्किलो युवाका रोशन राईले हात पारे । उत्कृष्ट फरवार्ड फुटबल किङ्गका मुकेश अग्वा भए भने उत्कृष्ट मिड फिल्डर म्याडडग्सका सुशान्त कार्कि चुनिए । त्यसै गरी इमर्जिङ प्लेयर फरचुनेटका सन्दिप विश्वकर्मा छानिए ।
प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट म्याडडग्सका डेविड सुब्बा घोषित भए । फेयर टिमको उपाधि फुटबल किङ्गले हात पारे ।
विजेता सम्पूर्ण खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि दमक-१ वडा अध्यक्ष हरि प्रसाद न्यौपानेद्वारा पुरस्कार वितरण गरिएको थियो ।
दमक-१ फुटबल परिवारको आयोजनामा आयोजित प्रतियोगिताको समापन कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल क्षेत्रमा प्रतिनिधित्व गरी दमकको नाम उच्च राख्ने पूर्व तथा वर्तमान खेलाडिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा पूर्व फुटबल खेलाडी गजेन्द्र देवान, पूर्व भलिबल खेलाडी शैलेन्द्र श्रेष्ठ, पूर्व बक्सिङ खेलाडी केशर कुमार मगर साथै राष्ट्रिय फुटबल खेलाडी द्वय सुसन भण्डारी र सेसेहाङ आङ्देम्बे, महिला बक्सिङ खेलाडी सुस्मिता लिम्बू, शारीरिक सुगठन च्याम्पियन विशाल पौडेल र व्याटमिन्टन खेलाडी जुनुन राई छन् ।
प्रतियोगिता असोज १२ गते देखि असोज २७ गते सम्म सञ्चालन भएको थियो ।

