adv

साक्फारामा बिजुली बलेपछि स्थानीय खुशी

कमन देवान
५ कात्तिक, दमक ।


इलामको चुलाचुली गाउँपालिका ६ साक्फारामा राष्ट्रिय प्रसारण लाईनको बिजुली बलेपछि स्थानीय खुशी भएका छन् । बिगतमा यो सिङ्गो वडा नै एउटा गाविस थियो । त्यसबेला साक्फारा बजारमा मावा खोलाबाट लघु जलविद्युत उल्पादन गरेर ३१ किलोवाट विद्युत निकालिएको थियो । पेल्टिसेटको बिजुलीले थोरै घरपरिवारलाई मात्रै सुविधा पुग्थ्यो भने कुटानी, पिसानी लगायत बढी विद्युत खप गर्ने कलकारखाना चलाउन सम्भव थिएन । तर, अब भने केन्द्रीय प्रसारण लाइनको बिजुली बलेसँगै साक्फारावासीका लागि यी सुविधा उपलब्ध हुने भएका छन् ।

साक्फारामा स्थानीयको श्रमदानसहित चुलाचुली गाउँपालिकाको पहलमा राष्ट्रिय प्रसारण लाइनको विद्युत बाल्न सम्भव भएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिएका हुन् ।

विद्युत विस्तार कार्य अन्तिम चरणमा पुगेपछि अध्यक्ष केरुङसहितको एक टोली अनुगमनमा साक्फारा पुगेको थियो । ‘स्थानीयले श्रम्दान गर्नु भयो, हामीले पनि विद्युत कार्यालय र ठेकेदार पक्षलाई पटक पटक अनुरोध गर्यों । त्यसैले सबैको जोडबलबाट बिजुली बलेसँगै चाडवाड उज्यालो हुने भो’, केरुङले भने ।

स्थानीय सरकारको नेतृत्वमा आउने बेलामा भोट माग्दा गरिएका प्रतिबद्धता पूरा गर्न पाएकोमा खुशी लागेको उनको भनाइ छ । ‘साक्फारालाई हामीले विशेष प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । यस पटक वर्षायाममा पनि यातायात सुचारु हुनेगरी बाटो मर्मत गरेका छौं, बाटो मर्मतको कार्य अहिले पनि जारी छ’, केरुङ भन्छन् ।

बाटोघाटो, खेलकुद, शिक्षा, स्वास्थ्य सबै कुरालाई ध्यानमा राखिएको भन्दै उनले आवश्यक प्रक्रिया पुर्याएर छिट्टै साक्फाराको लागि एउटा एम्बुलेन्स हस्तान्तरण गर्ने तयारी अन्तिममा पुगिसकेको समेत जानकारी दिएका छन् ।

चुलाचुली ६ का वडा अध्यक्ष दिलकुमार राईले राष्ट्रिय प्रसारण लाइनको बिजुली वितरण कार्य थालनी भएको जानकारी दिएका छन् । वडा अध्यक्ष राईले भने –‘दशमी बजार र पाख्रिनटारका १६ घरमा बिजुली बलिसक्यो । अरुतिर घरघरमा वायेरिङ कार्य जारी छ ।’ स्थानीय जनताको श्रमदानबाटै पोल गाढ्ने, तार टाँग्नेलगायतक कार्य गरिएको उनको भनाइ छ । पर्याप्त आर्थिक अनुदानको अभावका कारण जनताको मागअनुसार द्रुत गतिमा काम गर्न नसकिएको राई बताउँछन् ।

वडा कार्यलयले विद्युत प्राधिकरणसमक्ष ४१ जनको मिटरबक्स सिफारिस गरेको तर ती सबै घरमा विजुली भने दसैँपछि मात्रै बल्ने भएको छ । ‘चाडले छोपिहाल्यो, प्राविधिकहरुले पनि चाड मान्न जानै पर्ने । त्यसैले घरघरमा वायेरिङ बाँकी रहँदा थप घरमा बिजुली बल्न सकेन, अब दसैँपछि लगत्तै बिजुली बाल्ने कार्यले निरन्तरता पाउँछ’ वडा अध्यक्ष राईले भने ।

चुलाचुली ६ साक्फारालाई भौागेलिक बिकटताको अवस्था हेरी अन्य वडा भन्दा बजेट व्यवस्थापनमै केही रकम बढी उपलब्ध हुँदैआएको वडा सदस्य काजीमन राईले बताए । तर, केन्द्रबाटै बजट कटौतीका कारण आफूहरुका लागि आवश्यक विकासे कार्यमा रकम अपुग हुने समस्या रहेको उनको गुनासो थियो ।

चुनावमा भोट माग्दा सामाजिक सुरक्षा भत्ता गाउँगाउँमा आएर वितरण गर्ने, साक्फारालाई एम्बुलेन्स दिने, राष्ट्रिय प्रसारणको विद्युत बालिदिने र बाटो बनाइदिने प्रतिबद्धता गरेका केरुङले बाटो बाहेकका स्थानीयको माग लग्भग पूरा गरिदिएको चुलाचुली ६ साक्फारा दशमी बजारकी सोनु राईले बताइन् । ‘उहाँले चुनावमा बोलेको कुरामा वृद्ध भत्ता र बिजुलीको कुरा पूरा भयो , बिजुली आउँदा त टुकी बालेर पढ्न सुरु गरेको अलिक पछि सोलार बालेर एसईई दिएको पुराना कुरा झल्झली याद आयो । अब हाम्रो लागि बाटो राम्रो बनिदिए हुन्थ्यो भन्ने लागेको छ’, उनको भनाइ थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु