१६ कात्तिक, काठमाडौं ।

सरकारको सिफारिसमा आम माफी पाएर छुटेका योगराज ढकाल पुनः जेल जाने भएका छन् ।
व्यक्ति हत्या अभियोग प्रमाणित भइ जेल परेका ढकाललाई गत संविधान दिवसको अवसर पारेर सरकारले आममाफि सिफारिस गरेको थियो भने राष्ट्रपतिले उनको कैद माफी गरेका थिए । तर, ढकालविरुद्ध आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहा भएको भन्दै भारती मानन्धर सर्वोच्च पुगेकी थिइन् ।
भारतीले कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद् र मन्त्रिपरिषद्को सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै दायर गरेको रिटमा बुधबार अन्तिम सुनुवाई भएको थियो ।
बिहीबारको सर्वोच्च अदालतको फैसलाले जन्मकैदको सजाय पाएका ढकालको कैद मिनाहा दिने निर्णय बदर गरेको छ ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मःल र डा. कुमार चुडालको इजलासले ढकालका हकमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश दिएको हो ।
‘अपराध पीडितको हक प्रतिकुल देखिएको’ भन्दै इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय खारेज गरिदिएको छ । सर्वोच्चले उनलाई तत्काल थुनामा पठाउन उत्प्रेषणको आदेश समेत दिएको हो ।
ढकालसहितको समूहले नेपालगञ्ज बजारमा २०७२ असार २८ गते खुँडा प्रहार गरेर चेतन मानन्धरको हत्या गरेको थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।

