कातिर्क १७, दमक ।

झापाको झापा गाउँपालिका अध्यक्ष जयनारायण साह र गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुन्तीदेवी बुढाथोकीसहित १० जनामाथि भ्रष्टाचार मुद्दामा तीन महिना कैद सजाय भएको छ ।
अध्यक्ष साह र पूर्व उपाध्यक्ष बुढाथोकीसहित १० जनालाई विशेष अदालतले बिहीबार यस्तो फैसला गरेको हो ।
उनीहरुविरुद्ध सडक निर्माण कार्यमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएको चार महिनापछि भएको बिहीबारको फैसतामा ११ आरोपीमध्ये १० जनालाई दोषी ठहर गरिएको विशेष अदालतले जनाएको छ ।
कसुर ठहर भएका अन्यमा वडा नम्बर ६ का तत्कालीन अध्यक्ष हरिबहादुर बानियाँ, वडा नम्बर ७ का नेत्रप्रसाद उप्रेती र वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष मोतीलाल गणेश छन् ।
त्यस्तै गाउँपालिकाका इन्जिनियर अभिशेष दास र सबइन्जिनियर विज्ञान चम्लागाईं पनि दोषी ठहर भएका हुन् । उनीहरुलाई अदालतले तीन महिना कैद र १० हजार जरिवाना फैसला गरेको हो ।
सो भ्रष्टाचार मुद्दामा लक्ष्मीमार्ग बाटो उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणीन्द्रप्रसाद खरेल, कोषाध्यक्ष सन्तमाया सुब्बा लिम्बूलाई चार महिना कैद र चार लाख ४१ हजार ९६४ रुपैयाँ जरिवाना हुने आदेश गरेको छ ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार सो मुद्दामा गाउँपालिकाका प्रशासकीय अधिकृत चोलाराज दंगाललाई भने अदालतले सफाइ दिएको हो ।
आर्थिक वर्ष ०७४/७५ मा झापा गाउँपालिकाको वडा नम्बर ३, ६ र ७ मा बाटो ग्राभेल गर्दा वास्तविक कामभन्दा धेरै काम भएको नापी किताब तयार गरी नक्कली बिल बनाएर भुक्तानी गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले गत २७ असारमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको थियो ।
२२ लाख ८२३ रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबीअनुसार विशेष अदालतले फैसला सुनाएको हो ।

