१७ कार्तिक, काठमाडौं ।
नेपाल टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको लागि छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले पाखा लगाउँदै नेपाल विश्वकपका लागि छनौट भएको हो ।
यसअघि सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको नेपालले १० वर्षपछि अब सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्ने छ ।
युएईले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाएका थिए भने नेपाली टोलीका कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२ र कुशल भुर्तेलले ११ रनको योगदान गरेका थिए ।
युएईलाई मध्यम स्कोरमा रोक्न कुशल मल्लले ३ विकेट लिएका थिए भने सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले समान १–१ विकेट झारेका थिए ।
काठमाडौंमा भएको अर्को छनोट खेलमा विजयी हुँदै ओमानले पनि विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
प्रधानमन्त्री दाहालको बधाई
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टी–२० विश्वकप प्रतियोगिताका लागि छनौट भएको नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।
क्रिकेटमा नेपाली टोलीले पछिल्लो समय प्राप्त गरेको सफलता र उचाईका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री दाहालले बधाई दिँदै सम्मान व्यक्त गरेका हुन् ।
नेपाली टोलीको आगामी यात्राका लागि सफलताको कामना व्यक्त गर्दै दाहालले सरकार सधैँ क्रिकेट खेलाडीको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विश्वकपमा २० टिम
आईसीसी मेन्स टी–२० विश्वकप २०२४ मा कुल २० टिमले प्रतिस्पर्धा गर्नेछन् ।
वेष्ट इन्डिज र अमेरिका आयोजक भएकाले सोझै छनोट भएका छन् भने २०२२ को टी–२० विश्वकपमा शीर्ष ८ मा रहेका अष्ट्रेलिया, इङ्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाले सोझै प्रवेश पाएका छन् भने वरियतामा माथि रहेका आधारमा बंगलादेश र अफगानिस्तानले पनि स्थान सुरक्षित गरिसकेका छन् ।
आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी र क्यानडाले टी–२० विश्वकप रिजनल क्वालिफायर्सबाट टी–२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।
आगामी २० नोभेम्बर देखि १ डिसेम्बरमा नामिबियामा हुने अफ्रिका क्वालिफायर फाइनलबाट दुई टिमले विश्वकपमा प्रवेश पाउने छन् ।