सजन राई
१७ कार्तिक, माङसेबुङ ।

यसअघि बैंकमा लामो लाइन बसेर थाप्नु परेको वृद्धभत्ता वडा कार्यालयमै पाएपछि माङसेबुङ १ की ७१ वर्षीया बेदमाया ढुङ्गानाको खुशीको सीमा नै रहेन । सामाजिक सुरक्षा भत्ता वडा वडाबाटै वितरण कार्य अघि बढाएको माङसेबुङ गाउँपालिकाका विभिन्न वडाका वृद्धवृद्धालाई यतिबेला हातहातै बैंकले भत्ता दिन थालेपछि उनीहरु खुशी भएका छन् ।
‘बैंक पुग्नु टाढा थियो । लाइन बसेर थाप्नु उस्तै दिक्दारी । अहिले त वडामै आएर भत्ता दिँदा खुशी लागेको छ’, ढुङ्गानाले अनुभव सुनाइन् ।
माङसेबुङ १ का ७९ वर्षीय रामराज शेर्माका लागि पनि जनप्रतिनिधि र बैंकका कर्मचारी वडामै आएर भत्ता दिएको सुखद् घटना स्मरणीय छ । ‘हातमा १२ हजार थमाइदिनु भो । हामीले खोजेको यत्ति त हो । सरकारले दिएको भत्ता सजिलै पाउन सकौं’, हर्षित मुद्रमा शेर्माले भने ।
भत्ता पाएर ढुङ्गाना र शेर्मा जस्तै ८० वर्षीया कृष्णमाया बरालदेखि वडा कार्यालयमा भत्ता थाप्ने पहिलो जेष्ठ नागरिक शिवलाल भट्टराईलगायत सबैका अनुहार उज्यालिएको थियो ।
माङसेबुङ गाउँपालिका २ मा शाखा रहेको सिटिजन्स बैंकसँगको सहकार्यमा वृद्धवृद्धालाई वडा कार्यालयहरुमै पुगेर भत्ता वितरण गर्दा जेष्ठ नागरिकहरु खुशी भएको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए । ‘स्थानीय सरकारले घरआँगनमै सेवा–सुविधा पुर्याइदेओस् भन्ने नागरिक चाहना पूरा गर्न सकेको प्रयास गरिरहेका छौं । सामाजिक सुरक्षा भत्ता वडा वडाबाट वितरण त्यस मध्येको एउटा कार्यक्रम हो’, अध्यक्ष राईले भने । बैंकले पालिकासँगको सहकार्यका गाउँ गाउँमा भत्ता बाड्न पुग्नुले राम्रो सन्देश प्रवाह भएको उनको भनाइ छ ।
गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङका अनुसार पाका उमेरका अग्रजहरुलाई भौगोलिक विकटता र उमेरका कारण बैंक जान टाढा हुने भएकोले सहजताका लागि यो कार्यक्रम सुरु गरिएको बताए ।
जेष्ठ नागरिक, जेष्ठ नागरिक (दलित), विधवा र क वर्गका पूर्ण अशक्त र दलित बालबालिका गरी बिहीबार वडाका २ सय ५० जनालाई बैंकसँगको सहकार्यमा वडा कार्यालयबाट भत्ता रकम उपलब्ध गराइएको पालिका प्रवक्ता सुसन राईले जानकारी दिए ।
माङसेबुङ गाउँपालिकाले वडा नम्बर ५ वडा कार्यालयबाट भत्ता रकम वितरण कार्य सुरु गरेको थियो । पालिकाका १ हजार ७ सय ६५ जना सामाजिक सुरक्षा कार्यक्रमबाट लाभान्वित हुँदै आएको पालिकाको तथ्यांक छ ।


