इलाम । इलामको माङसेबुङ ३ स्थित चकमके सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा सजन राई सर्वसम्मत चयन भएका छन् ।
लाक्तापा टोलमा माङसेबुङ ३ का वडा अध्यक्ष लछुमन राई सहित बसेको भेलाले राईलाई अध्यक्ष अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै उपाध्यक्षमा रिता कुमारी राई,सचिवमा शुरेस राई, सह-सचिवमा मिमाहाङ राई र कोषाध्यक्षमा संगिता राई चयन भएका छन् । सदस्यहरुमा हरी कुमार राई, कमला राई, कबिता राई, कुशचन्द्र राई, अप्सरा राई र सुजन राई रहेका छन् ।
त्यसै गरी सल्लाहकार समितिमा प्रसाद राई संयोजक रहेका छन् भने सदस्यमा रत्न प्रसाद राई र पदम राई छन् ।
“उपभोक्ता समितिको कार्यकाल सकिए पनि अधिवेशन गर्न नसक्दा पुरानै समिति कायम रहेको थियो । अहिले समिति पुनर्गठन गरेर नयाँ समिति बनाएका छौ ।” समितिका निवर्तमान अध्यक्ष ज्योति राईले भने ।
चकमके सामुदायिक वन उपभोक्ता समितिका सचिव शुरेस राईका अनुसार समिति २०७३/०५/३० गते गठन गरी २०७४/०३/२५ गते दर्ता भए पनि विभिन्न समस्याका कारण नयाँ समिति बनाउन सकिएको थिएन् । उपभोक्ता समितिको कार्ययोजना पनि सकिएको छ । पहिले ५ वर्षे कार्ययोजना हुन्थ्यो तर अब १० वर्षे भएकोले ढुक्क छौ । तिहार लगत्तै कार्ययोजना बनाउन जिल्ला जाने तयारी रहेको छ ।
२९ हेक्टर क्षेत्रफलमा फैलिएको चकमके सामुदायिक वन माङसेबुङ ३ उत्तरी भेग र माङसेबुङ ६ को सिमानामा अवस्थित छ । यस वन क्षेत्रमा कटुस, केमुना, झिगनि, उतिस लगायतको रुख विरुवा पाइन्छ ।
सामुदायिक वन हुनु भन्दा अघि जथाभावी वन जङ्गल काट्ने हुँदा वन मासिदै गएको थियो । जस्ले गर्दा पहिरो समेत गएको थियो । सामुदायिक वन बनाउन पहल तथा सहयोग गर्ने साथै निवर्तमान कार्य समितिलाई विशेष धन्यवाद दिदै अध्यक्ष चुनिएका राई भन्छन् “सामुदायिक वनलाई उत्कृष्ट बनाउन सबै उपभोक्ताको साथ चाहिन्छ । उपलब्धिमुलक बनाउन एक्लै नसकिने हुँदा सबै लागि परौं ।”
सामुदायिक वन उपभोक्ता समूहहरुको वनमाथिको अधिकार स्थापना, संरक्षण एवं प्रवर्दन गर्ने तथा उपभोक्ता समूहको क्षमता र नेतृत्व विकास गर्ने लक्ष्य सहित २०५२ साल जेठ १८ गते स्थापना भएको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल देशभर रहेका सामुदायिक वन उपभोक्ता समूहहरुको प्रतिनिधिमूलक छाता संगठन हो ।