adv

स्वीकारोक्ति विश्व यात्रा २०२३ औपचारिक सुरु

कमन देवान
१२ मंसिर, दमक ।


स्वीकारोक्ति विश्व यात्रा २०२३ औपचारिक सुरु भएको छ ।

झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीबाट सोमबार एक औपचारिक कार्यक्रमका बीच अभिायन सुरु भएको हो ।

शिविरका बस्ती व्यवस्थापन समिति सचिव सञ्चहाङ सुब्बालगायत शरणार्थी अगुवा, शिक्षक र विद्यार्थीहरुको बाक्लो उपस्थितिका बीच स्वीकारोक्तिले विश्व यात्राको प्रारम्भ गरेको जनाएको हो । यसअघि आइतबार शिविरका विभिन्न सामुदायिक संस्था, मठमन्दिरहरुको भ्रमण गरेको टोलीले त्यसअघि काठमाडौंमा पत्रकार सम्मेलन, साइकल यात्रा र सडकमा रहेका असाह्य मानिसहरुलाई खाना वितरण गरेको थियो ।

‘अस्तित्वहरुको न्यायिक सम्बोधन’ मुख्य नारा राखेर सुरु भएको स्वीकारोक्ति फाउण्डेशन अमेरिकाले वर्ष २०२३ बाट स्वीकारोक्ति विश्व यात्रा थालनी गरेको फाउण्डेशनका अध्यक्ष एवम् स्वीकारोक्ति दर्शनका प्रवर्तक डेन्जोम साम्पाङले जानकारी दिएका छन् ।

ग्लोबल पोष्ट नामक साहित्यिक तथा समसामयिक पत्रिकाको तेस्रो अंकको सम्पादकीयमा उल्लेख भए अनुसार स्वीकारोक्ति सिद्धान्त २०६८ चैत ५ गते तत्कालीन भुटानी शरणार्थी शिविर खुदुनाबारी झापाबाट औपचारिक सुरु भएको हो ।

तेस्रो मुलुक पुनर्वास भएर बाँकी रहेका सात हजार भन्दा बढी भुटानी शरणार्थी समुदायका मानिस अझै पनि बेलडाँगी र मोरङको पथरीस्थित शरणार्थी शिविरमा बसोबास गर्दछन् । शिविरबाटै अभियान सुरु गरिएको बारे स्वीकारोक्ति फाण्डेशनका अध्यक्ष साम्पाङ भन्छन् –यो दर्शनको चिन्तन, यसका सहयात्री, पालनकर्ताहरु हामी अधिकांशको पृष्ठभूमि शिविरहरुसँग जोडिएको छ । न्याय, शान्ति, खुसी र प्रेमको खोजीसँग जोडएको छ ।’

‘विश्व शान्तिको कामनासहित विश्वभर रहेका नेपाली जातिका बीच आपसी भाइचारा, आत्मीयता, उन्नति प्रगति र खुसी बाँढ्ने उद्देश्यले विश्व यात्राको सोच विकास गरिएको हो । हामी यसलाई बढी भन्दा बढी अन्तरक्रियात्मक बनाउन चाहन्छौं । साथसाथै नेपाली भाषा, साहित्य, कला, संस्कृति, संगीतसहितको यात्रा बनाउने हाम्रो उद्देश्य हो’, साम्पाङ भन्छन् ।

यात्राकै क्रममा झापाको बेलडाँगी, विर्तामोड, इलामको चेप्टी, सुनसरीको धरानमा विभिन्न कार्यक्रम तय गरिएको र भारतका विभिन्न सहरहरुमा कार्यक्रम सम्पन्न गरेर काठमाडौंमा विद्यार्थीहरुसँगको अन्तरक्रियासहित औपचारिक विदाई कार्यक्रम तय गरिएको स्वीकारोक्ति फाउण्डेशनले जनाएको छ ।

औपचारिक समापन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सरकारका मन्त्री र उच्च तहका व्यक्तित्वहरुसमेतको उपस्थिति रहने दावी गरिएको छ ।

यात्राकै क्रममा वर्ष २०२२ मा घोषणा गरिएको स्वीकारोक्ति सिद्धी पुरस्कार आसम गुवाहाटीका सुप्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ । नगद राशी नेपाली छ लाख रूपैयाँ रहेको सो पुरस्कार चर्चित उपन्यास बसाइँ, ब्रह्मपुत्रको छेउछाउ लगायत कृतिका सर्जक क्षेत्रीलाई नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप पुरस्कृत गर्ने निर्णय भएको थियो ।

विर्तामोडमा अन्तरक्रिया र सांस्कृतिक कार्यक्रम हुने


यात्राका क्रममा सोमबार नै झापाको विर्तामोडमा फाउण्डेशनले औपचारिक पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

मंसिर १४ गते विर्तामोडमा फाउण्डेशनले विद्यार्थीमाझ अन्तरक्रिया र साँस्कृतिक सांगीतिक कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रमका दौरान विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । तर, सम्मानित व्यक्तित्वहरुको नाम भने सार्वजनिक गरिएन ।

पत्रकार सम्मेलनमा बोल्दै स्वीकारोक्ति फाउण्डेशनका अन्तर्राष्ट्रिय विभाग प्रमुख एवम् यात्राका कार्यक्रम संयोजक कर्ण गुरुङले २०२३ मा नेपालबाट यात्रा सुरु भएको जानकारी दिए । ‘यो वर्ष यात्राका क्रममा नेपालका झापा, मोरङ, सुनसरी, इलाम र काठमाडौंमा विभिन्न कार्यक्रम गर्नेछौं । साथै, नेपाली जाति बसोबास गर्ने भारतीय सहरहरु पश्चिम बंगालको सिलिगुरी, सिक्किमको गेन्टोक र आसामको गुवाहाटीमा विशेष कार्यक्रमहरु हुनेछन्’, गुरुङले भने ।

यस यात्राले आगामी वर्षहरुमा समेत निरन्तरता पाउने जानकारी दिँदै उनै गुरुङ भन्छन् –‘हामीले वर्ष २०२४ को लागि नेपाली जातिको बसोबास रहेका अमेरिका र क्यानडाका विभिन्न प्रान्तहरुमा स्वीकारोक्ति दर्शन प्रचारसहित नेपाली जातिका बीच सम्बन्ध विकास गर्ने विभिन्न कार्यक्रम गर्ने छौं । वर्ष २०२५ मा भने युरोपका विभिन्न १० वटा मुलुकमा यात्रा गर्ने गरी तयारी थालिएको छ ।’

स्वीकारोक्ति फाउण्डेशनले आफ्ना सदस्यहरुलाई हरियो पोशाक र हरियो टीका अनिवार्य गरेको छ । यात्रासहितका विभिन्न अभियान र कार्यक्रमहरुमा यसका सदस्यहरुले हरियो रङका पहिरन प्रयोग गर्नुपर्ने नियम चाहिँ प्रकृति, वातावरण र पर्यावरणको रक्षार्थ वन सम्पदाको संरक्षण लक्षित रहेको उनीहरुको दावी छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु