१२ मंसिर, माङसेबुङ ।

मंगलबार (आज) बाट आत्मानन्द कप फुटबल प्रतियोगिताको दोस्रो चरणका खेलहरु सुरु हुँदैछन् ।
प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाईनलमा मंगलबार अपरान्ह माङसेबुङ गाउँपालिका इलाम र सिरिजंगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङबीच भिडन्त हुँदैछ ।
माङसेबुङ र सिरिजंगा मोरङबीचको पहिलो सेमिफाईनल खेल माङसेबुङ गाउँपालिका ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दिउँसो साढे दूई बजे हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुम सचिव सरिता राईले जानकारी दिएकी हुन् ।
इलामको माङसेबुङमा जरि १६ औं संस्करणको आत्मानन्द कप २०८० अन्तरष्ट्रिय फुटबल प्रतियोगिताको फाईनल खेल भने मंसिर १७ गते हुने खेलकुद कार्यक्रमका संयोजक तथा आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिएका छन् ।
यस अघि माङसेबुङले पाहुना टोली बिवाईसी भुटानलाई पराजित गर्दै सेमिफाईनल पुगेको हो भने सिरिजंगा मोरङले डिफेन्डिङ च्याम्पियन छथर गाउँपालिका तेह्रथुमलाई हराउँदै माङसेबुङसँग भेट पक्का गरेको हो ।
प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा बुधबार तिजोक युवाक्लब पाँचथर र पाहुना टोली एमएफसी दार्जिलिङ, भारतबीच हुने छ ।
सेमिफाइनलमा भेट पक्का गर्न तिजोकले धनकुटा जिल्ला फुटबल संघ धनकुटालाई पराजित गरेको थियो भने पाहुना टिम एमएफसी दार्जिलिङ, भारतले गोलबजार स्पोर्टिङ क्लब सिराहालाई स्तव्ध पारेर अघिल्लो चरण उक्लिएको थियो ।
वर्तमान धर्मगुरु आत्मानन्द लिङ्देनको ७० औं शुभजन्मोत्सवको अवसरमा आयोजित प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

