adv

न्यायो कम्बलले शरणार्थीलाई दिएको खुशी

कमन देवान
१४ मंसिर, बेलडाँगी ।


बेलडाँगी २ को सेक्टर सी १ छाप्रो नम्बर ५० मा बस्दै आएकी फूलमाया राईले बिहीबार अमेरिकास्थित सेजल एण्ड सिस्टरले प्रदान गरेको न्यायो कम्बल पाएपछि राहतको स्वास फेरिन् ।

‘जाडो आउन लाग्दा यसरी शिविरमै आएर न्यानो कम्बल दिने दाताहरुलाई सँधै दिइरहन पुगोस्, धन्यवाद छ’, शिविरको स्वयम्सेवी संस्था बिआरडब्लुएफको प्रतिनिधिका रूपमा कार्यरत राईले खुशी हुँदै भनिन् ।

दातृ निकायहरुले सहयोग कटौती गरेपछि शिविरका छाप्राहरुमा बसिरहेका शरणार्थी समुदायको जीवन थप कष्टकर भएको राईको भनाइ थियो । ‘हामी भन्दा पनि नाजुक स्थितिका मानिसहरु हुनुहुन्छ । पुरानो सिरक डसना मुसाले काटिसक्यो । दातृ निकायले सहयोग कटौती गर्यो’, उनले दुखेसो पोखिन् ।

फुलमायाले जस्तै बेलडाँगी २ को सेक्टर सी ४ छाप्रो नम्बर ४८६ का कर्णबहादुर राईले जाडो मौसम सुरु हुनै लाग्दा न्यायो कम्बल वितरण गर्ने संस्थालाई धन्यवाद दिए । ‘हामी यस्तै दुःख जिलो गरेर बसेका भए पनि उहाँ (दाता)हरुलाई धन्यवाद छ’, उनले भने ।

बिहीबार बेलडाँगी २ स्थित इन्ट्रा डे केयरको प्राङ्गणमा न्यायो कम्बल थाप्न शरणार्थी शिविरका बासिन्दाहरुलाई जति हत्तारो थियो, उत्तिकै व्यस्त थिए शिविर व्यवस्थापन समिति र अन्य स्वयम्सेवी निकायका प्रतिनिधिहरु । कम्बल थापेर आ–आफ्ना छाप्रोमा फर्कँदै गरेका वृद्धवृद्धाहरुको अनुहारमा खुशी झल्केको देख्न सकिन्थ्यो ।

अमेरिकाबाट झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविर आइपुगेका मेघराज सुवेदीले सेजल एण्ड सिस्टर अमेरिकाका तर्फबाट बिहीबार शिविरका मानिसहरुलाई न्यानो कम्बल वितरण गरेका हुन् ।

बिहीबार शिविरमा वस्ती व्यवस्थापन समिति (एसएमसी) को रोहबरमा सुवेदीसहितको टोलीले १५ सय घरपरिवारलाई जाडोबाट बच्न न्यायो कम्बल बितरण गरेको हो ।

सुवेदी भन्छन् –‘१५ वर्ष अघि म यही शिविरबाट पुनर्वास भएर अमेरिका गएको हुँ । मलाई छाप्रोभित्र कठ्याङ्ग्रीएर जाडो काट्नुको पीडा थाहा छ । त्यसैले छोरीको नामबाट स्थापित परोपकारी संस्थाको तर्फबाट यति सहयोग गर्न पाउँदा अत्यन्त आभारी छु ।’

अमेरिकाको पेन्सिल्वेनियाको पिट्सबर्क बस्दै आएका सुवेदीका अनुसार ३० लाख बढीको लागतमा खरिद गरिएको न्यायो कम्बल पथरी शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरका थप पाँच सय घर परिवारलाई शुक्रबार वितरण गरिने छ ।

‘बिगत ६ वर्षदेखि छोरी सेजलले जम्मा गरेको खुत्रुके बचतको समेत रकम यो सहयोगमा मिसाएका छौँ । उनको यस कार्यमा २० प्रतिशत योगदान छ । उनी अहिले ११ वर्षकी भइन्’, सुवेदीले भने । सेजल एण्ड सिस्टरको संस्थापक भने आफ्नी श्रीमती मोन सुवेदी रहेको उनले जानकारी दिए ।

सुवेदीको न्यायो बाँढ्ने अभियानलाई साथ दिन सुवेदी परिवारसहित आएका थिए –नायक सञ्जित भण्डारी, कलाकार तथा रङ्गकर्मी सम्रान्त (राजु) थापा, सुबासचन्द्र खरेल, निर्देशक केर कोईँच लिनुच, सेजल एण्ड सिस्टर एलएलसीका प्रतिनिधि सपना श्रेष्ठ, समाजसेवी यशोदा कट्वाललगायत ।

बेलाडाँगीका १५ सय परिवारलाई न्यायो कम्बल वितरण गरिएकोप्रति खुशी व्यक्त गर्दै भुटानी शरणार्थी वस्ती व्यवस्थापन समितिका सचिव सञ्चहाङ सुब्बाले सहयोगी मनका धनी सुवेदी परिवार र परोपकारी संस्था सेजल एण्ड सिस्टरलाई धन्यवाद ज्ञापन गरे ।

‘यो कार्यक्रमले शिविरका १५ सय घर परिवारमा न्यायोले प्रवेश पाएको छ । जाडोका लागि कम्बल अभाव थियो, त्यसको पूर्ति भएको छ । अब विश्वस्त छौं कि यो जाडोमा शरणार्थीले कठ्याङ्ग्रिनु पर्देन’, सचिव सुब्बाले भने ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु