माङसेबुङ । इलामको माङसेबुङ गाउँ पालिका स्थित वडा नं ५ मा लिम्बू भाषा र सिरिजङ्घा लिपिलाई सरकारी कामकाजको भाषाको रुपमा लागू भएको ५औं वर्षको अवसरमा कार्यक्रम आयोजना गरि उत्सव मनाएको छ ।
माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ को आयोजनामा गुरुनिजि आश्रम लारुम्बामा बुधबार माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यमा विविध कार्यक्रमबीच बार्षिक उत्सव मनाइएको हो ।
कार्यक्रमलाई प्रमुख अतिथिले महादिप प्रज्वलन गरि उद्घाटन गरेको थियो ।
५औं वर्षको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले इलाम जिल्लामा नै लिम्बु भाषा तथा सिरिजङ्घा लिपिलाई सरकारी कामकाजीको रुपमा लागू गरिएको पहिलो वडा माङसेबुङ ५ रहेको बताए । उनी भन्छन् पालिकाले पनि पहिले नै घोषणा गरिसकेको र गाउँ सभाबाट पनि पास भइसकेकोले चाँडै कार्यन्वयन हुनेछ र भाषिक विधालयहरुलाई पालिकाले प्राथमिकतामा राख्ने छ ।
कार्यक्रममा लेखिका भिमा खजुम , किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति अध्यक्ष केहेरसिं योङहाङ लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा माङसबुङ ५ वडा अध्यक्ष नरेन्द्र राई, माङसेबुङ ४ वडा अध्यक्ष नविन योङहाङ, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति उपाध्यक्ष होम लिङ्देन, किरात धर्म तथा साहित्य उत्थान संघ उपाध्यक्ष दुध बहादुर लाओती, माङगेन्ना सेवा समिति सचीव शक्ति सांवा, किरात साम्यो माङसेवासाबा पान्जुम्भो सचिव सन्चहाङ सम्बाहाङफे, माङगेन्ना सेवाको पूर्व सचीव नन्दकुमार नेम्वाङ , लगायतको उपस्थिति रहेको थियो ।
माङसेबुङ ५ मा किरात लिम्बू भाषा र सिरिजङ्घा लिपिलाई सरकारी कामकाजी भाषा घोषणा तथा लागू गरेको ऐतिहासिक मंसिर १३ गतेका दिन प्रत्येक वर्ष वार्षिक उत्सवको रुपमा मनाउदै आएको छ ।
त्यसै गरी मंसिर १८ गते किरात धर्म गुरु आत्मानन्द लिङ्देनको जन्मदिनको अवसरमा माङसेबुङ गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।