adv

आत्मानन्द कप : भलिबल प्रतियोगिताको उपाधि बिराटनगरलाई

१६ मंसिर, माङसेबुङ ।


आत्मानन्द कप भलिबल प्रतियोगिताको उपाधि केपीसी बिराटनगर मोरङले जितेको छ ।

शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा भद्रपुर नगरपालिका झापालाई ३–१ को सेटमा हराउँदै केपिसी बिराटनगर (प्रदेश पुलिस क्लब)ले उपाधि जितेको हो ।

माङसेबुङ ५, स्थित आत्मानन्द खेल मैदान (प्रस्तावित आत्मानन्द रंगशाला)मा भएको उपाधि भिडन्तमा पहिलो सेट २५–१९ ले जित्दै भद्रपुरले १–० को अग्रता बनाएको थियो । तर दोस्रो सेट भने बिराटनगरले २६–२४ ले जित्दै खेल १–१ को बराबरीमा फर्काएको थियो ।

त्यसपछि तेस्रो सेट बिराटनगरले २७–२५ ले जित्दै २–१ को अग्रता बनाएको थियो भने चौथो सेटमा केपिसीले २५–१६ को नतिजा निकाल्दै भद्रपुरलाई स्तव्ध बनाएको थियो ।

जित सँगै बिराटनगरले ट्रफीसहित नगद ७० हजार १ सय ७०, मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेता बनेको भद्रपुरले ट्रफीसहित नगद ३५ हजार १ सय ७०, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगिताको उत्कृष्ट सेटर बिराटनगरका बिशाल राई, उत्कृष्ट ब्लकर भद्रपुरका अनिश निरौला, उत्कृष्ट लिवेरो बिराटनगरका युगल मगर र उत्कृष्ट स्पाईकर भद्रपुरका धनु श्रेष्ठ घोषित भए । विभिन्न बिधाका उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कारसहित मेडल र प्रमाण प्राप्त गरे ।

भलिबल संघ प्रदेश १ को प्राविधिक सहयोगमा सञ्चालन भएको प्रतियोगितामा माङसेबुङ गाउँपालिकाको खेलकुद विकास एवम् प्रवद्र्धन र गुरु निजी आश्रम निजी सचिवालयको सहयोग रहेको थियो ।

वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना महान सेवा समारोहको अवसरमा आयोजित आत्मानन्द कप खेलकुद प्रतियोगिताअन्तरगत यस वर्ष भलिबल प्रतियोगितासमेत आयोजना गरिएको खेलकुद कार्यक्रमका संयोजक तथा आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

जारी खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार आत्मनन्द कप १६ औँ संस्करणको फाइनल खेल हुने छ ।

उपाधि भिडन्तका लागि घरेलु टिम माङसेबुङ गाउँपालिका र तिजोक पाँचथरबीच रोचक प्रतिस्पर्धा हुने आयोजक समितिकी सचिव सरिता राईले जानकारी दिएकी छन् ।

सञ्चारकर्मी र सामाजिक व्यक्तित्वहरुबीच मैत्रीपूण खेल हुने

सो फाइनल खेल हुनु भन्दा अगाडि माङसेबुङका सामाजिक व्यक्तित्वहरु र सञ्चारकर्मीका बीचमा मैत्रीपूर्ण खेल हुने बताइएको छ ।

सामाजिक व्यक्तित्वहरुको तर्फबाट माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष बिनोद नेम्बाङ, सतिको टिम मैदान छिर्ने छ भने सञ्चारकर्मीतर्फ पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवानसहितको टिम स्पर्धामा उत्रिने छ ।

मैत्रीपूर्ण खेललाई माङसेबुङ पब्लिकेसन्स एण्ड मिडिया प्रा.लि. ले प्रयोजन गरेको हो ।

 

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु