adv

पहिचान आन्दोलनले तरङ्ग

पहाडमा पूर्वमन्त्री पक्राउ, झापामा मुख्यमन्त्री निशानामा

कमन देवान
२७ मंसिर, दमक ।


पहिचानको पक्षमा आन्दोलनरत शक्तिको अवरोधका कारण मंगलबारको मध्यपहाडी यात्रामा रहेको मुलुकको प्रतिपक्षी दल नेकपा एमालेलाई सास्ती झेल्नु परेको छ । गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको संमृद्धिका लागि संकल्प यात्रा प्रदेश १ प्रवेश भएसँगै मंगलबारबाट पहिचान पक्षधरले मध्येपहाडी मार्गको यातायात अनिश्चितकालका लागि बन्द गराएका छन् । उनीहरुले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसहित प्रदेश सभाका कोशी नाममा मतदान गर्ने सदस्यहरुलाई अवरोधको प्रयास गरे । सुरक्षाकर्मीको सहयोगमा ओलीसहितको टोली भने आन्दोलनकारीको अवरोध हटाउँदै तेह्रथुम आइपुगेको छ । उसको यो यात्रा पाँचथरको चिवा भञ्ज्याङसम्मको रहने छ ।

यद्यपि, पहिचान पक्षधर आन्दोलनकारीले एमालेविरुद्ध मात्रै पहिचान नपाएको आक्रोश पोखेका छैनन् । काँग्रेसबाट पछिल्लो पटक मध्यावधि टार्न एमालेको समेत समर्थनमा प्रदेश मुख्यमन्त्री बनेका केदार कार्कीलाई समेत झापाको दमकमा मंगलबारको एक कार्यक्रममा सहभागी हुन आउँदै गर्दा कालो झण्डा देखाउने र उनी सवार गाडीमा आक्रमण प्रयास भएको छ ।

मंगलबार पहाडी क्षेत्रमा सडक अवरोधका लागि कतै रुख लडाइएको पाइयो भने कतै ढुङ्गा थुपारेर बाटो अवरुद्ध गर्ने कोसिस गरेको पाइयो । एमाले यात्राका लागि निर्माण गरिएका स्वागतद्वारहरु भत्काइएका छन् ।

उदयपुरको घुर्मी, खोटाङको हलेसी, भोजपुर बजार आदि स्थानहरुबाट प्रहरीले पहिचानको पक्षमा आन्दोलन गरिरहेका मध्ये पूर्व संस्कृति मन्त्री गोपाल किराती, जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य राकेश राई, प्रदेश समितिकी कार्यकारिणी सदस्य मिना राईसहित ११ जनालाई पक्राउ गरेकोमा उदयपुरका दुई जनालाई थुनामुक्त गरे पनि बाँकी नौ जनालाई नछाडेको खबर छ । प्रहरीले यस पटक नियन्त्रणमा लिइएका प्रदर्शनकारीलाई तत्कालन नछाड्ने संकेत दिएको छ ।

त्यस्तै प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई कालो झण्डा देखाएर विरोध गरेको भन्दै कोशी खारेजी आन्दोलनका झापा संयोजक एवम् नेपाल आदिवासी जनाजति महासंघ झापा जिल्ला अध्यक्ष पाण्डवलाल चौधरीलाई मंगलबार साँझ प्रहरीले उनको अर्जुनधारास्थित घरबाटै पक्राउ गरेको हो । मुख्यमन्त्री कार्की सवार प्रदेश १–०४००१ झ ०००३ नम्बरको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गाडीको सिसा फुटाएको आरोप प्रहरीले चौधरीमाथि लगाएको छ ।

एकातिर पहिचान पक्षधर आन्दोलनकारीहरुको सडक अवरोध र विरोधले पहाडी जनजीवन कष्टकर बन्ने देखिँदैछ भने अर्कोतर्फ पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीको सुरक्षा गर्नु पर्ने दायित्व सुरक्षा निकायलाई छ । सँगै आन्दोलनकारीलाई सुरक्षा दिनुपर्नेदेखि उनहरुमाथि बल प्रयोग गर्नुपर्ने र आदेश अनुसार नियन्त्रण गर्नु पर्नेसम्मको जिम्मेवारी प्रहरीलाई छ ।

आन्दोलनरत प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति मूल घटक मध्येको एक किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले भने कोशी नामाकरण गर्नेसहित पहिचानको आन्दोलनको विरुद्धमा रहेका नेताहरुलाई बहिस्कार गर्ने आफूहरुको खुला नीति अनुसार आन्दोलन अघि बढेको दावी गर्छन् । उनले भने –‘पुष १ गतेसम्म त हाम्रो पूर्व घोषित यातायात बन्दसहितको कार्यक्रम घोषित नै हो । पहिचान विरोधी एमालेका तीन नेता र ८२ जना प्रदेश सभा सदस्यलाई प्रदेशभर बहिस्कार गर्ने अभिायन पनि जारी नै छ । प्रहरीले नियन्त्रणमा लिएका आन्दोलनकारीलाई नछाडे थप दबाबमूलक कार्यक्रम बारे सोच्छौं ।’

संर्घष समितिले मंगलबार राति नै विज्ञप्ति जारी गरेर पक्राउ गरिएका पूर्व मन्त्री किरातीसहित अन्य आन्दोलनकारीलाई निशर्त छाड्न माग गरेको छ ।

झापाको दमकमा आन्दोलनकारीको कालो झण्डा खाएका मुख्यमन्त्री कार्कीले भने दमक नगरको सामुदायिक प्रहरी साझेदारी पालिका समितिले थालेको लागु औषध दुव्यसनविरुद्ध अभियानको उद्घाटन गर्दै ढुङ्गा हानेर पहिचान नआउने जिकिर गरेका थिए । कार्कीले भने –‘वार्ताबाट समस्या हल गर्नुपर्छ । वार्ताको लागि सदा ढोका खुला छ ।’ यद्यपि पहिलो पटक मुख्यमन्त्री भएका बेला पहिचान पक्षधरको घेराबन्दीका कारण बिराटनगर भन्दा बाहिर निस्कन असमर्थ हिक्मत कार्कीले उत्तरार्धमा वार्ता समिति गठन गरेर आह्वान गरेयता प्रदेशमा कुनै सरकारले आन्दोलनकारीसँग वार्ता आह्वान गरेको भने छैन ।

गत वर्षको फागुन १७ गते गैरसरकारी विधेयकमार्फत एमाले नेतृत्वको प्रदेश सरकारले प्रदेशको नाम कोशी पारित गराएको थियो । कोशी नामा पारित गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीसहित तत्कालीन प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित कम्मर कसेर लागेका थिए । एमालेको सो प्रस्तावमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपासमेतका गरी ८२ जना प्रदेश सदस्यहरुले हस्ताक्षर गरेका थिए ।

प्रदेश सभाबाट पारित कोशी नाम खारेजी गर्नुपर्ने र पुनः पहिचानका आधारमा प्रदेशको नामाङ्कन गर्नुपर्ने मागसहित विभिन्न पहिचान पक्षधर जातीय, धार्मिक र राजनीतिक शक्तिहरुले फागुन १७ को साँझदेखि नै सडक तताउन थालेका थिए । क्रमशः आन्दोलनले प्रदेश राजधानी रहेको बिराटनगर हुँदै प्रदेशभरका मुख्य सहर, चोक, पालिकाका केन्द्र हुँदै वडा कार्यालयहरुमा समेत धावा बोल्यो ।

बिराटनगरमा प्रदर्शन गर्ने क्रममा प्रहरीको लाठी प्रहारबाट आन्दोलनकारी पदम लिम्बूले गत वर्ष चैत १० गते ज्यान गुमाए । उनलाई सरकारले सहिद घोषणा गरेर उनको परिवारलाई सो अनुसार क्षतिपूर्ति उपलब्ध गराएको छ । दमकका भएको अर्को प्रदर्शन र राँकेजुलुशमा प्रहरीले चलाएको गोली लागेर इलाम चुलाचुली १ का गजेन्द्र फागोको सख्त घाइँते छन् । उनको घुँडाको पाङ्ग्रा क्षतविक्षत भएको छ भने ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उनी उपचाररत छन् ।

पहिचान पक्षधर आन्दोलनकारी शक्तिले कोशी नाममा हस्ताक्षर गर्ने ८२ जना प्रदेश सभा सदस्यहरुलाई प्रदेशका विभिन्न सार्वजनिक कार्यक्रमहरुमा विरोध गर्ने, बहिस्कार गर्ने, उनीहरु सहभागी हुने कार्यक्रम बिथोल्नेलगायत विरोधका गतिविधि गर्दै आएका छन् । राई र लिम्बू समुदायका प्रदेश सभा सदस्यहरुलाई त उनीहरुको समुदायले वंश गद्दार घोषणा गर्नेदेखि कालो मोसो दल्नेसम्मका कार्य गरेका छन् । त्यस्तै, कोशी नाम खारेजीको आन्दोलनका क्रममा केही प्रदेश सभा सदस्य र एमालेका नेताहरुको गाडी तोडफोड गर्ने, हातपात गर्नेसम्मका घटना पनि भइसकेका छन् । प्रहरीले केही आन्दोलनकारीमाथि विभिन्न मुद्दा पनि लगाएको छ ।

एमाले प्रस्तावित कोशी नामको विरोधमा पहिचानको आन्दोलन सुरु भएसँगै ‘आतंकारी’ समेत भन्न भ्याएका एमाले अध्यक्ष ओली र कोशी प्रदेश पहिचानवादीको बाउको विर्ता होइन भन्दै धम्क्याउने एमाले नेताहरु योगेश भट्टराई र महेश बस्नेतसमेतलाई पहिचान पक्षधर आन्दोलनकारीले प्रदेश १ भित्र प्रवेश निषेध गरेको घोषणा विज्ञप्तिमार्फत गरे । त्यसको प्रतिवादका लागि एमालेले भने प्रदेशका विभिन्न जिल्लाहरुमा ओली, भट्टराई र बस्नेत सहभागी हुने किसिमका कार्यक्रमहरु गर्दै आएको छ ।

पहिचान पक्षधरका मागको सुनुवाई गर्ने विषयमा एमाले नेताहरु जति कठोर छन्, उनीहरुले दिने अभिव्यक्ति पनि उस्तै रुखो र कठोर छ । ‘आउँदो चुनावमा दुईतिहाई ल्याएर नाम परिवर्तन गरे भयो त’, यो जवाफ मुख्यमन्त्री पदमा बहाल रहेका बेला सरकारी टेलिभिजनसँगको अन्तरवार्तामा दिएका थिए । अध्यक्ष ओलीले भने पहिचानका नाममा आन्दोलनलन गर्ने समूहलाई पटक–पटक ‘विकास र समृद्धिको बाधक, समुदायबीच विखण्डनको बिउ रोप्ने’को संज्ञा दिने गरेका छन् ।

 

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु