adv

इन्द्रेणी कप: स्पोर्टिङ्ग क्लब र इन्द्रेणी क्लब भेट्रानको विजयी शुरुवात

 

सजन राई ,दमक । इन्द्रेणी कप नक आउट फुटबल टुर्नामेन्ट – २०८० को पहिलो दिनको खेलमा संगम स्पोर्टिङ्ग क्लव र इन्द्रेणी युवा क्लब(भेट्रान) विजयी भएको छ ।

आज भएको उद्घाटन खेलमा संगम स्पोर्टिङ्ग क्लबले रियल स्टार फुटबल क्लबलाई सडन डेथमा हराउदै दोस्रो चरण प्रवेश गरेको हो।

दमक १० स्थित सेतुमारी खेल मैदानमा इन्द्रेणी युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता पुष ३ गते सम्म चल्ने छ ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइब्रेकमा पुगेको थियो । ट्राइब्रेकरमा पनि बराबरी पछि सडन डेथमा संगम स्पोर्टिङ ७-६ गोल अन्तरले विजयी भयो

त्यसैगरी पहिलो दिनको दोस्रो खेलमा इन्द्रेणी युवा क्लब(भेट्रान) ले शान्ति युवा क्लबलाई ट्राइब्रेकरमा २ का विरुध्द ३ गोल गर्दै विजेता बन्यो । प्रतिस्पर्धा खेलको निर्धारित समयमा कुनै पनि गोल हुन नसकेपछि नतिजा ट्राइब्रेकरबाट निर्धारण गर्नु परेको थियो ।

पहिलो खेलको म्यान अफ दि म्याच संगम स्पोर्टिङ्ग क्लवका गोलकिपर राम लिम्बू भए भने दोस्रो खेलमा इन्द्रेणी युवा क्लवका गोलकिपर हसन शेर्मा घोषित भए ।

उद्घाटन सत्रको औपचारिक कार्यक्रममा संविधान सभा सदस्य माननिय महिन्द्रा कुमारी सुब्बा, दमक नगर प्रमुख राम थापा, दमक नगर उप-प्रमुख रेगिना भट्टराई प्रसाइ, दमक-१० वडा अध्यक्ष राजेन्द्र भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

दोस्रो दिनको पहिलो खेल सेतुमारी युवा समाज र लियो फुटबल क्लब बीच हुनेछ भने दोस्रो खेल आयोजक इन्द्रेणी युवा क्लब र सिक्स ओ क्लक क्लबका बीच हुनेछ ।

प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः नगद ५० हजार र ३० हजारसहित ट्रफी, मेडल र प्रमाण्पत्र प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा सहभागी मध्ये अनुशासित खेल खेल्ने टिमलाई नगद १५ हजार सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा झापा र मोरङ जिल्लाका १२ वटा टीमको सहभागिता रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु