६९ हजार २८७ ले गरे मतदान
कमन देवान
१५ बैशाख, माङसेबुङ ।
इलाम क्षेत्र नम्बर २ मा शनिबार सम्पन्न उपनिर्वाचनको मत गणना भोलि बिहान आइतबारबाट हुने भएको छ । विभिन्न मतदानस्थलहरुबाट मतपेटिका इलाम सदरमुकाम ल्याइपुर्याउन अबेर हुने भएकाले भोलि (आइतबार) बिहानबाट मत गण्ना हुने भएको हो ।
इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आइतबार बिहान ७ बजे मत गणना बारे समन्वय बैठक बस्नेछ । प्रजिअ यादवले एसएमएसमार्फत सो जानकारी दिएका हुन् ।
इलाम २ का बिकट मतदानस्थलहरुबाट मतपेटिका इलाम सदरमुकाम पुग्न मध्यरात नै कट्ने अनुमान गरिएको छ । मत गणनाका लागि भने इलाम ७ को गौतम बुद्ध सभागृह (सिटीहल) मा आवश्यक तयारी पूरा गरिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको हो ।
इलाम २ का विभिन्न ६ वटा पालिकाका ७९ मतदानस्थलको १४९ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म शान्तिपूर्ण मतदान कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले निर्वाचन क्षेत्रभर ६० प्रतिशत मत खसेको जनाएको छ । कुल एक लाख १५ हजार ८८९ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा ६९ हजार २८७ मत खसेको हो ।
३४ हजार १५० महिला मतदाता र ३५ हजार १३५ पुरुष मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले जानकरी दिएका हुन् ।
‘पूर्वानुमान अनुसारकै मत खसेको छ । कक्षा १२ को परीक्षा सुरु भएकाले पनि परीक्षाका लागि आफ्नो मतदानस्थलबाट टाढा रहेका विद्यार्थीहरुले मत लाउन पाएनन् भन्ने हाम्रो आँकलन हो’, प्रमुख निर्वाचन अधिकृत घिमिरेले भने ।
२०७९ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा भने इलाम २ मा ६२ प्रतिशत मत खसेको थियो ।
इलाम जिल्लाका निर्वाचन कार्यालय प्रमुख देवीचरण फुएलका अनुसार मत गणनास्थलको आवश्यक सबै सुरक्षा व्यवस्था चुस्त पारिउको छ । तारजालीसहित मत गणनास्थलमा १२ वटा सिसी क्यामेरासमेत जडान गरिएको छ ।
इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि रिक्त रहेको यस निर्वाचन क्षेत्रमा उपनिर्वाचन गरिएको हो ।
इलाम २ उपनिर्वाचनमा स्वतन्त्रका ७ सहित राजनीतिक दलका १२ उम्मेद्वार गरी १९ जनाले चुनावी प्रतिस्पर्धा गरेका छन् ।
यस पटकको प्रतिस्पर्धामा एमालेबाट स्वर्गीय सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ नम्ेवाङ, कांग्रेसबाट स्वर्गीय नेम्बाङकै निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बू, पहिचानवादीका साझा उम्मेद्वार डकेन्द्रसिंह लिम्बूबीच मुख्य प्रतिस्पर्धा छ ।