adv

एमाले कार्यकर्ताकै असावधानीले ओली माथि भयो मुड्की प्रहार

आक्रमण गरेको अभियोगमा महेश राई पक्राउ

२९ मंसिर, दमक ।


संकल्प यात्राका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि बिहीबार धनकुटाको लेगुवामा भएको मुड्की प्रहार घटना एमाले कार्यकर्ताकै असावधानीका भएको बुझिएको छ ।

प्रदेश प्रहरी कार्यालयका डिआइजी राजेशनाथ बाँस्तोलाका अनुसार अध्यक्ष ओलीलाई मुड्की प्रहार गर्ने महेश राईमाथि शंका लागेर सुरक्षामा खटिएको प्रहरीले रोक्न खोजे पनि उनी एमाले कार्यकर्ताहरुकै सहयोगमा फूलमाला बोकेर छिरेका थिए ।

डिआइजी बाँस्तोलाले सञ्चार माध्यमहरुलाई दिएको जानकारी अनुसार राई एमाले कार्यकर्ताहरुसँगै स्वागत गर्ने निहुले ओली नजिक पुगेका थिए । ‘हाम्रा साथीहरुले रोक्न खोजेका रहेछन् । तर, एमालेकै कार्यकर्ताहरुको सहयोग लिएर लाइनमा छिरेको थाहा भएको छ’, बाँस्तोलाले भनेका छन् ।

ओलीमाथि आक्रमण भए लगत्तै एमाले कार्यकर्ताले राईमाथि कुटपिट गरेका प्रहरीले जनाएको छ । उनी महालक्ष्मी ५ धनकुटा निवासी भएको बताइएको छ । पहिचानवादी संघ संगठनको कुनै जिम्मेवारीमा नरहेका राईलाई घटनापछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उनले मादक पदार्थ सेवन गरेको खुलेको प्रहरीको भनाइ छ ।

३१ जना प्रहरी नियन्त्रणमा, अभियान सकेपछि मात्रै छाडिने


एमालेका अध्यक्ष ओलीसहितको मध्यपहाडी संकल्प यात्राको सुरक्षाका क्रममा पहरीले प्रदेश नम्बर १ मा बिहीबारसम्म ३१ जनालाई पक्राउ गरेको जनाएको छ । यात्रा अवरोध गर्न खोजेका आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पूर्व संस्कृति मन्त्री गोपाल किरातीसहितका पहिचान पक्षधर नेता कार्यकर्ता छन् । डिआइजी बाँस्तोलाका अनुसार ओलीमाथि मुड्की प्रहार गर्ने महेश राईसहित उदयपुर, खोटाङ, भोजपुर र धनकुटामा गरी ३१ जनालाई पक्राउ गरिएको हो ।

बिहीबार बिहान भोजपुर र धनकुटाको सीमाबाट नौ जना पक्राउ परे । पक्राउ पर्नेहरुमा प्रदेश पहिचान संयुक्त संघर्ष समिति संखुवासभाका संयोजक वीरेन्द्र खारा राई, किरात राई यायोख्खाका धनकुटा अध्यक्ष उद्धवमणि राई, किरात याक्थुङ चुम्लुङ धनकुटा अध्यक्ष कमलसि तिगेला, नेताहरु उमा चाम्लिङ, जितेन्द्र माङ्पाङ, करवील कुलुङ, जुद्ध राई, शोकुल राई र पनित कुलुङ रहेका छन् । उनीहरूलाई प्रहरीले धनकुटा र भोजपुरको सीमामा पर्ने लेगुवाबाट पक्राउ गरेको थियो ।

बिहीबार नै भोजपुर सदरमुकाममा एमाले अध्यक्ष ओलीलाई कालो झण्डा देखाएका पहिचान पक्षधर नौ जनालाई प्रहरीले एमालेको जिल्ला पार्टी कार्यालय अगाडिबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा जनता समाजवादी पार्टी, भोजपुरका जिल्ला उपाध्यक्ष मन्जु राई, जिल्ला सदस्य दिनेश राई, धिरज राई, मणी राई, विद्यार्थी नेता धिरेन खिम्बू, तयाबुङ राई र विकास राईलगायत रहेको प्रहरीले जानकारी दिएको थियो ।

गत मंगलबार उदयपुर र खोटाङबाट प्रहरीले पूर्वमन्त्री किराँतीसहित १२ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका अन्यमा मिना राई, राजेश राई, गन्धमान राई, विजय राई, उदिम राई, दिनेश राई, पनन राई, विदुर राईलगायत रहेका छन् ।

छ जनाविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइयो


प्रहरीले पूर्व मन्त्री किरातीसहित पक्राउ परेका पहिचान पक्षधर नेता कार्यकर्तालाई म्याद थपेर ओलीको कार्यक्रम नसकिएसम्म थुनामा राख्ने योजना बनाएको छ ।

खोटाङ प्रहरीका प्रवक्ता टिका बरालका अनुसार किरातीसहित पाँच जनाविरुद्ध अभद्र व्यवहारको मुद्दामा चलाएर पाँच दिनको म्याद थप गरिएको हो । म्याद थप गरिएका अन्यमा उदिम राई, राजेश राई, गन्धमान राई र विजय राई छन् ।

ओलीसहितको एमालेको यात्रा पुष २ गते पाँचथरको चिवा भञ्ज्याङ पुगेर समापन हुने छ ।

यस्तै, झापाको दमकमा मुख्यमन्त्री केदार कार्कीलाई कालो झण्डा देखाएको कारण पक्राउ परेका प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति झापाका संयोजक पाण्डवलाल चौधरीमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएको छ ।

मुख्यमन्त्री कार्कीको गाडीमा ढुङ्गा प्रहार भएको भन्दै प्रदेश प्रहरी कार्यालयले घटना संलग्न पहिचान पक्षधर आन्दोलनकारीको खोजी भइरहेको जनाएको छ ।

 

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु