
सजन राई ,दमक । इन्द्रेणी युवा क्लवले आयोजना गरेको
इन्द्रेणी कप नक आउट फुटबल टुर्नामेन्ट – २०८० को तेस्रो दिनको खेलमा मुनल्याण्ड एफसी केर्खा र आम्बारी स्पोर्टिङ युथ क्लबले जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको छ ।
शुक्रवार भएको पहिलो खेलमा मुनल्याण्ड एफसी केर्खाले संगम स्पोर्टिङ क्लब दमकलाई ३-२ गोल अन्तरले पाखा लगाउदै क्वाटरफाइनल प्रवेश गरेको हो । खेलको म्यान अफ द म्याच सन्तोष न्यौपाने घोषित भए ।

यसैगरि तेस्रो दिनको दोस्रो खेलमा आम्बारी स्पोर्टिङ युथ क्लबले इन्द्रेणी क्लब भेट्रानलाई ५-० को सहज जित हात पार्दै क्वाटरफाइनल प्रवेश गर्यो । उक्त खेलमा ह्याट्रिक गोल गरेका संजय धिमाल म्यान अफ द म्याच चुनिए ।
दमक १० स्थित सेतुमारी खेल मैदानमा इन्द्रेणी युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता पुष ३ गते सम्म चल्ने छ । शनिवार चौथो दिनको पहिलो खेल सेतुमारी युवा समाज र ब्रदर्स युनाइटेड फुटबल क्लब बीच हुनेछ भने दोस्रो खेल आयोजक इन्द्रेणी युवा क्लब र कमल फुटबल क्लबका बीच हुनेछ ।
प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः नगद ५० हजार र ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा सहभागी मध्ये अनुशासित खेल खेल्ने टिमलाई नगद १५ हजार सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा झापा र मोरङ जिल्लाका १२ वटा टीमको सहभागिता रहेको छ ।

