१ पुष, दमक ।
दमक–चिसोपानी–रवि सडक (फाल्गुनन्द मार्ग) निर्माण कार्य सुरु गरेको तीन दशक बढी समय बितिसक्दा पनि निर्माण कार्यमा प्रगति हुन नसकेपछि यस बारे चौतर्फी चासो बढेको छ । सडक निर्माण कार्यमा सहजीकरण गरिदिनका लागि स्थानीय सरकारले जिल्ला प्रशासन कार्यालय नै गुहार्नु परेको छ ।
बिगत २५ वर्षयता संघीय सरकारको बहुवर्षे योजनामा परेको यो ३३ किलोमिटर सडकलाई प्रदेश १ सरकारले समेत प्रदेशको गौरब योजनाका रूपमा पारेको छ । तर, पटक–पटक ठेक्का लाग्ने र म्याद थपिने कार्य हुँदा पनि सडक निर्माण कार्यमा भने प्रगति नभएपछि माङसेबुङ गाउँपलिकाले दशैं तिहार अगावै जिल्ला प्रशासन गुहारेको थियो ।
जिल्ला प्रशासन कार्यालय इलामले भने माङसेबुङ गाउँपालिकाको पत्राचारलाई ध्यानमा राखेर करिब ३ महिनापछि भोलि (सोमबार) सडक निर्माण कार्यसँग सम्बद्ध पक्षहरुको भेला डाकेको हो । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्बद्ध पक्षको बैठक डाकेका हुन् ।
‘हामीले गत असोज ८ गते नै सडक निर्माण कार्यमा भइरहेको ढिलासुस्ती हटाउने बारे सम्बद्ध पक्षहरुलाई राखेर सहजीकरण गरिदिन जिल्ला प्रशासनलाई पत्रचार गरेका थियौं, त्यतिबेला पत्राचार गरे पनि जिल्ला प्रशासनले बल्ल सुनुवाई गर्न लागेको हो’, माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले भने ।
३३ किमि सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का लगाए पनि निर्माण कार्यले गति लिन सकेको छैन । पटक–पटक म्याद थपेर काम गरे पनि सडक निर्माण पक्षले ढिलासुस्ती गरिरहँदा बाटो कहिले बन्ने हो ? भन्नेमा अझै अन्योलता रहँदै आएको छ ।
सडकको प्रथम बिन्दु मानिएको दमकबाट सुरु हुने सात किलोमिटर खण्डलाई पहिलो प्याकेजका रूपका ठेक्का लगाई २०७५ साल साउन अन्तिममा सम्झौता भएको थियो । महालक्ष्मी–किराँतेश्वर जेभीले ३० महिनाभित्र निर्माण गरिसक्नु पर्ने २२ करोड ५९ लाख ६४ हजारमा ठेक्का लिएको सो प्याकेजको काम मुस्किलले ६२ प्रतिशत सम्पन्न भएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ ।
१५ किलोमिटरको दोस्रो प्याकेजको काम पनि ६२ प्रतिशत मात्रै सकिएको सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी एवम् इन्जिनियर गौतमकुमार देवको भनाइ छ । लुम्बिनी–गणपति जेभीले ५४ करोड ४४ लाख ८७ हजारमा ठेक्का लिएको यो सडक खण्डको अवस्था अझै नाजुक छ ।
दोस्रो प्याकेजको ठेक्का पारेको कम्पनीले नै यस सडकको ११ किलोमिटर सडक तेस्रो प्याकेज निर्माणको ठेक्का ५९ करोड १५ लाख ३५ हजारमा पाएको हो । तर, यस खण्डमा २८ प्रतिशत काम मात्रै काम भएको सडकको भनाइ छ । पहिलो प्याकेज जस्तै दोस्रो र तेस्रो प्याकेजको ठेक्का सम्झौता पनि म्याद गुज्रिसकेका छन्् ।
सडक निर्माणको ठेक्का पाएका निर्माण कम्पनीहरुले सडकको निर्देशन अनुसार द्रुत गतिमा काम नगरेको, ढिलासुस्ती गरेको कार्यालयको भनाइ छ । माङसेबुङ गाउँपालिका अध्यक्ष राई भने ढिलासुस्ती गर्ने ठेकेदारलाई नियमानुसार कार्बाही गर्नु पर्ने मत राख्छन् । उनले भने –‘सडक निर्माणको ठेक्का पाइसकेपछि समयमै काम नसक्ने ठेकेदार वा कम्पनीलाई कारबाही गर्ने नियम छ । यो सडकको हकमा पनि त्यो नियम लागू हुनुपर्यो ।’
इलाम चुलचुलीको वडा नम्बर ५, माङसेबुङ गाउँपालिकाका वडाहरु ४, ३, २ र ६ साथै पाँचथर मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर ५ लाई यस सडकले छोएको छ । यो झापा जिल्लालाई पहाडी जिल्लाहरु इलाम, पाँचथर र ताप्लेजुङ जोड्ने सबै भन्दा छोटो दुरीको सडक हो ।