सजन राई
१ पुष, चुलाचुली ।

इलामको चुलाचुलीमा सम्पन्न तेस्रो चेतनशील कप २०८० को उपाधि टसी ब्वाइज उर्लाबारी मोरङले चुमेको छ । प्रतिस्पर्धात्मक खेलमा आयोजक चेतनशील युवा समाजलाई सडन डेथमा स्तव्ध पार्दै टसी ब्वाइजले उपाधि हात पारेको हो ।
चुलाचुली ५ मा रहेको चपेटी खेल मैदानमा सञ्चालित प्रतियोगिताको फाइनलमा निर्धारित समयमा दुवै टिमबाट कुनै गोल नभएपछि खेल टाई ब्रेकरमा पुगेको थियो ।
ट्राई बेकरमा टसी ब्वाइजका सागर लिम्बू, रोहन चौधरी, विशाल राई, र राज बोहोराले गोल गरेका थिए भने जंग खड्काको प्रहार गोल किपर आयुष योङहाङले छेक्न सफल भएका थिए ।
आयोजकको तर्फबाट जर्सी नम्बर १४ का रोशन धिमाल, पारस कार्की, निर्मल राई, र आयुष श्रेष्ठको प्रहार गोलमा परिणत हुदाँ गौरव धिमालको प्रहार गोल किपर सुजन लिम्बूले विफल बनाइदिएका थिए ।
त्यस्तै सडन डेथमा टसीका पुजन राई, साहिल लिम्बू, पदम मगर र गोल किपर सुजन लिम्बूले गोल गरेका थिए भने आयोजकतर्फका रोशन राई, जर्सि नम्बर ४ का रोशन धिमाल र सुजनले गोल गर्दा गोल किपर आयुषको प्रहार गोल पोष्टबाट बाहिरिएको थियो ।
टसीले सेमिफाइनलमा आयोजक ‘बी’लाई ४–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो भने चेतनशील युवा समाजले चुलाचुली एफ सी दमकलाई ०–३ गोल अन्तरले पाखा लगाउँदै फाइनल भिडन्त पक्का गरेको थियो ।
प्रतियोगिताको बिजेता टसी ब्वाइजले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेता आयोजक चेतनशीलले नगद २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
विजेता खेलाडीहरुलाई प्रमुख अतिथि चुलाचुली गाउँपालिका उपाध्यक्ष दिल कुमारी लिम्बू, विशिष्ट अतिथि चुलाचुली ५ वडा अध्यक्ष वविन राई, चुलाचुली ४ वडा अध्यक्ष सागर जवेग लगायतले पुरस्कार वितरण गरेका थिए ।
‘स्वच्छ, समुन्नत, स्वरोजगार र चेतनशील समाज निर्माण गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिता मंसिर २५ गतेदेखि पुष १ गते सम्म सञ्चालन भएको थियो ।



