adv

झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा सामाजिक सद्भावको सन्देश : एमाले बरिष्ठ उपाध्यक्ष पोखरेल

२ पुष, दमक ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले भर्खरै सम्पन्न गरेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा सामाजिक सद्भावको सन्देश भएको दावी गरेका छन् ।

एमालेले कसैको विरुद्धमा यात्रा नगरेको दावी गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान अस्थिर, अन्यौल  भद्रगोल राजनीतिका विरुद्धमा बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको आफूहरुको यात्राले वर्तमान सरकारका गलत कार्यको  विरुद्धमा खबरदारी गर्दै सद्भावको सन्देश प्रवाह गरेको बताएका हुन् ।

प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा विर्तामोडमा सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले जनतामा व्याप्त निराशा, आक्रोशलाई चिरेर उत्साह जगाउन यात्रा प्रभावकारी रहेको जिकिर गरे । ‘अभियानका दौरान देखिएको जनसहभागिताले यो कुरालाई पुष्टि गरेको छ । यात्राले अपेक्षाकृत सफलता हात पारेको पार्टीको ठहर छ’, उनले भने ।

पत्रकार सम्मेलनमा एमाले पोलीटब्यूरो सदस्य तथा झापाका इन्चार्ज विशाल भट्टराई, जिल्ला कमिटी झापाका अध्यक्ष दीपक कार्की ,संघीय सांसद हर्कमाया विश्वकर्मा र प्रदेश सभा सदस्य कमला थापामगर लगायतको उपस्थिति थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर १२ गते बैतडीको झुलाघाटबाट सुरु गरेको यात्रा १८ दिनपछि पाँचथरको चिवाभञ्ज्याङ आएर समापन गरिएको थियो ।

एमालेको संकल्प यात्रा प्रदेश १ प्रवेशसँगै पहिचान पक्षधरले ओलीसहित प्रदेश सभामा कोशी नाममा मत दिने प्रदेश सभा सदस्यहरुलाई बहिस्कार गर्ने घोषित नीति अनुसार विभिन्न स्थानहरुमा लगातार विरोध गरेका थिए ।

सो क्रममा ओलीसहित एमालेको संकल्प यात्रामा अवरोध गरेको आरोपमा प्रहरीले पूर्वमन्त्री गोपाल किरातीसहित आन्दोलनकारीलाई पक्राउ गरेर मुद्दासमेत चलाएको थियो भने धनकुटाको लेगुवामा एमाले अध्यक्ष ओलीलाई स्थानीय महेश राईले मुक्का प्रहार गरेका थिए ।

ओलीको सुुरक्षार्थ प्रदेश १ का पहाडी जिल्लाहरुमा १० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु