२ पुष, दमक ।

झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा धनकुटाको लेगुवामा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि महेश राईले गरेको मुक्का प्रहार प्रदेश नमाकरणमा प्रदेशवासीको भावनालाई कुल्चनुको परिणाम भएको आन्दोलनरत पहिचान पक्षधर शक्तिहरुले दावी गरेका छन् ।
सोमबार प्रदेश नम्बर १ पुनः नामाङ्कन समितिले जारी गरेको विज्ञप्तिमा राईले अध्यक्ष ओलीमाथि पहिचान पक्षधर आन्दोलनकारीमाथि भएको प्रहरी ज्यादतीको आक्रोश पोख्न स्वतस्फूर्त मुक्का प्रहार गरेको ठहर गर्दै उनी पहिचान आन्दोलनको कट्टर समर्थक भएको दावी गरेको हो ।
विज्ञप्तिमा धनकुटाबाट सो घटनापछि पक्राउ परेका राईको परिवारलाई अनावश्यक मानसिक तनाव दिने काम भइरहेको भन्दै संघर्ष समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । राईमाथि कुटपिट गर्ने एमाले कार्यकर्ताहरुको हुलिया प्रष्ट चिनिने भएकाले तत्काल पक्राउ गरी कारबाही गर्नसमेत समितिले माग गरेको हो ।
उनीसहित प्रदेश १ का मुख्यमन्त्री केदार कार्कीमाथि दमकमा कालो झण्डा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका संघर्ष समितिका झापा जिल्ला संयोजक पाण्डवलाल चौधरीलाई तत्लकाल रिहाई गर्न विज्ञप्तिमा माग गरिएको छ । ‘झापाबाट पाण्डवलाल चौधरी र धनकुटाबाट महेश राईलाई तत्काल रिहा नगरे हाम्रो सम्पूर्ण धयन यसप्रति केन्द्रित गर्दै तत्काल कड भन्दा कडा आन्दोलन घोषणा गरिने र यसका लागि तयार रहन सम्पूर्ण नेता कार्यकर्ताहरुलाई आव्हान गर्दछौं ।’, विज्ञप्तिमा उल्लेख छ ।
संघर्ष समितिले एमाले अध्यक्ष ओलीसहितको संकल्प यात्रालाई ‘कथित’ भन्दै यसै दौरान मृत्यु भएका संखुवासभाका कान्छा लामा र पाँचथरका प्रेम संग्रौलाको मृत्युको जिम्मा एमालेले लिनुपर्ने र मृतकका परिवारलाई आवश्यक क्षतिपूर्ति दिनुपर्ने मागसमेत गरेको हो ।


