adv

संघीय गणतन्त्रको सफल प्रयोगमा जोड

४ पुष, जनकपुर ।


संघीय गणतन्त्रको सफल प्रयोगले मात्रै नेपाली जनताको भाग्य भविष्य दिगो र सफल हुने जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

मधेश प्रदेश राजधानी जनकपुरमा जारी प्रेस मञ्च नेपाल मधेश प्रदेशको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको दोस्रो दिन आयोजित कार्यक्रममा यादवले यस्तो बताएका हुन् ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका जसपा अध्यक्ष यादवले भने –‘संघीयता बारे नबुझेर गलत धारणा राख्ने जनतालाई बुझाएर सच्याउनु पर्छ । जनताले राखेको गलत धारणासँगै बग्नु हुंदैन ।’

संघीयता पक्षधर नेता कार्यकर्ताले मुलुकमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिँदै यादवले विश्वमा अभ्यास भइरहेका मध्ये संघीय शासन प्रणाली नै उत्कृष्ट रहेको दावी गरे ।

नेपालमा संघीयता लागू भएयता विकास निर्माण कार्य, अधिकार प्राप्ति, प्रतिनिधित्व र पहुँचमा वृद्धिलगायत धेरै कुरामा सुधार भएको अध्यक्ष यादवको जिकिर थियो । ‘संघीयताले सबै बर्बाद भयो भन्ने कुरा मनोविज्ञानिक रोग मात्रै हो’, संघीयताको विरोधीहरुतर्फ लक्षित उनको टिप्पणी थियो ।

प्रशिक्षणमा सहभागीहरुले राखेका विभिन्न जिज्ञासाहरुको जवाफ दिँदै बारा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका यादवले नेपालमा संघीयताको अभ्यास नै गलत तरिकाले गर्न खोजिएको आरोप लगाएका थिए । ‘संघीयतामा संघ र प्रदेशबीच अधिकार साझेदारी गरिन्छ । तर, नेपालमा संघले एक्लै ७९ प्रतिशत वित्तीय अधिकार राखेको छ । प्रदेशहरुलाई मरेर १४ प्रतिशत बजेट दिइन्छ । न प्रहरी, न कर्मचारी ? अनि कसरी प्रदेश सरकारको काम देखिन्छ ?’, यदवले असन्तुष्टि पोखे ।

बिगतमा मधेश सरकारको कृषि र आर्थिक मामिला मन्त्री बनेका शैलेन्द्र साहले प्रशिक्षणकै क्रममा आफ्नो अनुभव सुनाउँदै भने –‘बजेटको सीमितता एउटा कुरा हो, तर कानून बनाएर पनि कार्यान्वयनमा सरकारको मेकानिजम (कर्मचारी) ले सहयोग गरेन । जसका कारण मधेशका जनताले चाहे जस्तो सुशासन दिन सकिएन ।’

प्रशिक्षणमा सहभागी जसपा बारा जिल्ला महिला इन्चार्ज प्रमिला गिरीले लडेर ल्याएको संघीय व्यवस्था नाम मात्रको भएको टिप्पणी गरिन् । ‘आफ्नै घरमा भाडा तिरेर बसे जस्तो भयो यो नाम मात्रको संघीयता । अधिकार सम्पन्न संघीयताका लागि जस्तोसुकै लड्न तयार हुनुपर्छ’, गिरीले भनिन् ।

संघीयता, समाजवाद, मधेस र पत्रकारिता विषयक तीन दिने प्रशिक्षणको दोस्रो दिनको कार्यक्रममा जसपा राजनीतिक समिति सदस्य अर्जुन थापाले समेत सहजीकरण गरेका थिए ।

प्रेस मञ्च नेपाल मधेश प्रदेशले आयोजना गरेको प्रशिक्षणमा मञ्चका संघीय समितिका पदाधिकारी स सदस्यहरु, मधेश प्रदेशका पदाधिकारी र सदस्य, जिल्ला अध्यक्ष र पदाधिकारीसहित अन्य सहभागी रहेका प्रेस मञ्च नेपाल मधेश प्रदेश अध्यक्ष अभरेन्द्र यादवले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु