६ चैत, दमक ।

किरात याक्थुङ चुम्लुङ दमक नगर र कमल गाउँ समितिले संयुक्त रूपमा यस वर्षको चासोक तङ्नाम (उधौली) मनाउने भएका छन् ।
कमल ५ स्थित आदिवासी रंगशालामा आयोजना गरिने बृहत् कार्यक्रमका बीच चासोक तङ्नाम र ३१९ औँ सिरिजंगा थेबे जन्म जयन्ती मनाउने भएको छ ।
पुष १० गते उधौली चाडका अवसरमा चुम्लुङ दमक र कमलले तीन चरणमा विभिन्न कार्यक्रम सम्पन्न गर्ने जनाएको हो । कार्यक्रमबारे शुक्रबार दमकमा पत्रकार भेटघाट गरी जानकारी दिइएको हो ।
चुम्लुङ दमकका अध्यक्ष देबेन्द्र चेम्जोङले बिहानको सत्रमा फेदाङ्बा विधि र किरात धर्म अनुसार सेवा गरेर न्वागी पूजा सम्पन्न गरिने छ भने बिहानको १० बजेपछि दिवा सत्रमा औपचारिक कार्यक्रम गरिने जानकारी दिए । त्यस्तै, दिउँसो ३ बजेपछिको समयमा बृहत् सांगीतिक कार्यक्रम हुने चेम्जोङको भनाइ छ ।
आदिवासी रंगशालामा हुने सो सांस्कृतिक कार्यक्रममा भ्वाइस अफ नेपाल किड्सकी फाइनलिस्ट रुक्साना लिम्बू, दीपा सुहाङ, चोत्लुङहाङ केदेम, कञ्चन थलङ, दिलिप माखिम, राजन पन्धाक, सुनिता मिभक निमा तामाङ र हिामल लिम्बूले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने बताइएको छ । साथै, केलाङ (च्याब्ुङ) र येलाङ (धाननाच) कार्यक्रम आयोजना गरिने आयेजकको भनाइ छ ।
चुम्लुङको संघीय महासचिव निरन्ती तुम्बापोको प्रमुख आतिथ्यता रहने सो कार्यक्रममा अनुमानित पाँच लाख खर्च हुने बताइएको छ ।
चुम्लुङको अगुवाईमा झापाका विभिन्न ठाउँहरुमा चासोक मनाइँदै
किरात याक्थुङ चुम्लुङका झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकले चासोक तङ्नामलाई चुम्लुङले विशेष महत्व दिएको बताएका छन् । चासोक र याक्थुङ लिम्बूहरुले प्रयोग गर्ने सिरिजंगा लिपीको पुनः उत्थानकर्ता सिरिजंगा थेबेको ३१९ औं जन्मजयन्ति कार्यक्रम भव्य रूपमा मनाइने फियाकको भनाइ छ ।
उनले झापाको शिवसताक्षी नगरपालिकाभित्र मात्रै विभिन्न चार स्थानमा अलग अलग कार्यक्रम हुने छ भने बुद्धशान्तिलगायत अन्य पालिकाहरुमा समेत कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । ‘शिवसताक्षीको फुलबारी खेलमैदान र बुद्ध शान्तिमा कार्यक्रम सुरु भइसक्यो । अन्य स्थानहरुमा तयारी अन्तिम चरणमा पुगेको छ ।
कमलस्थित आदिवासी रंगशालामा भने राज्यले पूर्वशर्त अनुसार आदिवासी रंगशाला निर्माण कार्यलाई गति दिनुपर्ने मागसहित दबाब सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको फियाक बताउँछन् । ‘बिगतमा चिहान भत्काउँदा जे सहमति हो, त्यो अनुसार राज्यले आदिवासी रंगशाला बनाउनु पर्छ । साथै, याक्थुङ (लिम्बू) लिपि, साहित्यको संरक्षणमा लागेका सिरिजंगा थेबेको योगदानलाई राज्यले सम्मान गर्नुपर्छ भन्ने हाम्रो जोड हो, उनले भने ।
सिरिजंगा सिङ् थेबेको जन्म सन् १७०४ मा लिम्बुवानको ताप्लेजुङमा भएको थियो । उनलाई सिरिजंगा लिपि र याक्थुङ साहित्यको प्रचार गरिरहेको अवस्थामा सन् १७४१ मा पश्चिम सिक्किमको मार्ताममा तिब्बती लामाहरुले रुखमा बाँधेर तीरले हानी हत्या गरेका थिए ।


