adv

युवाले देशलाई सही दिशामा डोर्याउनु पर्छ : चेम्जोङ

१४ पुष, इटहरी ।


जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय नेता रकम चेम्जोङले देशलाई सही दिशामा डोर्याउने अविभारा युवा पुस्ताको काँधमा रहेको बताएका छन् ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) को भातृ संगठन समाजवादी युवा संघ प्रदेश नम्बर १ को पुनर्गठन भेलालाई जसपा प्रदेश पार्टी कार्यालय इटहरीमा सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका चेम्जोङले यस्तो बताएका हुन् ।

जसपा केन्द्रीय कार्यकारिणी सदस्य एवम् प्रदेश १ इन्चार्ज चेम्जोङले युवा पुस्ताको खबरदारी नभए मुलुकमा प्राप्त संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, गणतन्त्र र लोकतन्त्र धरापमा पर्ने जिकिर गरे । ‘प्राप्त उपलब्धिहरुको रक्षामा युवा पुस्ताको भूमिका अग्रणी हुन्छ’, उनले भने –‘युवा उमेर गुजारी सकेकाहरुमा जोश हुँदैन र युवा अवस्था भन्दा मुनिका पुस्तामा चेतना आइसकेको हुँदैन । त्यसैले कुनै पनि मुलुकको प्रगतिका लागि उत्पादनदेखि राजनीतिक उपलब्धि रक्षार्थ पनि युवाकै खाँचो हुन्छ ।’

जसपाले विभेद् र बहिस्करणमा पारिएका जाति, वर्ग, क्षेत्र र लिङ्गको मुक्ति र अधिकारका निम्ति संघर्ष गरेकै उपजका रूपमा मुलुकले संघीयतासहितको उपलब्धि प्राप्त गरेको भन्दै चेम्जोङले यद्यपि यो पूर्ण नभएको जिकिर गरे । ‘प्राप्त उपलब्धिको जगमा टेकेर मुलुकलाई सामाजिक न्यायसहितको समाजवादमा पुर्याउने हाम्रो लक्ष्य हो । त्यो लक्ष्य पहिचान, स्वायत्तता, सुशासन र समृद्धि प्राप्त भएपछि मात्रै पूरा हुन्छ । यसका निम्ति देशभरका युवाको नेतृत्व समाजवादी युवा संघले गर्नुपर्छ’, उनले भने ।

समाजवादी युवाको प्रदेश १ मा केरुङ


यसैबीच सो भेलाले टाइसन केरुङको अध्यक्षतामा ३७ सदस्यीय प्रदेश समिति पुनर्गठन गरेको छ ।

शनिबार  आयोजित भेलाले केरुङको नेतृत्वमा समाजवादी युवा संघको प्रदेश समिति पुनर्गठन गरेको हो ।

समितिका उपाध्यक्षत्रयमा निशान किराती (धनकुटा), सरोज यादव (मोरङ), दिनेश राई (भोजपुर) चयन भए भने मुख्यसचिवमा अमिर मगर (मोरङ) चयन भए ।

त्यस्तै समितिका सचिव त्रयमा क्रमशः गुञ्जन माझी (सुनसरी), ओङ्डा शेर्पा (ओखलढुङ्गा), देवेन्द्र यादव (मोरङ) चयन भए ।

पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवम् प्रदेश १ इन्चार्ज रकम चेम्जोङको प्रमुख आतित्थ्यमा सम्पन्न कार्यक्रममा १४ वटै जिल्लाका प्रतिनिधिहरुको सहभागीता रहेकोे जसपा प्रदेश १ सदस्य एवम् युवा इन्चार्ज गौरीमान राईले जानकारी दिए ।

आयोजित भेलामा जसपा प्रदेश १ अध्यक्ष दिपक याक्खा, प्रदेश सल्लाहकार संयोजक एवम् पूर्व प्रदेश मन्त्री जयराम यादव, पार्टीका राजनीतिक समिति सदस्य एवम् विदेश विभाग प्रमुख अर्जुन थापा, झापा अध्यक्ष दिपेन बाला राईले समाजवादी युवाले विभेद् र उत्पीडन अन्त्यका लागि रचनात्मक संघर्ष गर्नु पर्ने साथै देश विकास र समाज रूपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए ।

समाजवादी युवा संघ प्रदेश १ का अध्यक्ष श्री सुब्बाको अध्यक्षतामा सम्पन्न पुनगर्ठन भेलामा जसपाका प्रदेश र जिल्ला तहका नेताहरुको समेत सहभागिता रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु