
२६ पुष,काँकरभिट्टा । प्रेस क्लब मेचीनगरको ९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । विहिबार काँकरभिट्टास्थित होटल इष्टर्न ग्राण्डमा क्लबको साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश नः१ का सदस्य गोपाल तामाङले पत्रकारहरु व्यवसायीक बन्न सक्ने वातावरणको सिर्जना गर्नु पर्ने र विकासमा संघ, प्रदेश र स्थानीय तहले जस लिने होडबाजी नगरी सँगसँगै समन्वय गरेर अघि बढ्न जरूरी रहेको बताए साथै संचार जगत अन्य कुनै क्षेत्रमा निर्भर नभइ पुर्ण रुपमा कलममा निर्भर रहनुपर्नेमा जोड दिए।
सभामा प्रमुख अतिथि तामाङ, प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी, वडाध्यक्षहरु कनक कार्की, प्रह्लादमणी ओली, गिरीराज धमला, संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्षहरु मुक्ति पौडेल, ज्ञानेन्द्र निरौला, लक्ष्मी उप्रेती, अग्रज पत्रकार जिएन् शर्मा, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) झापाका अध्यक्ष भूमिका सुब्बालगायतले शुभकामना मन्तब्य राखेका थिए ।
यसैबीच कार्यक्रमका सहभागीको तर्फबाट क्लबले आफ्ना सदस्यका लागि स्थापना गर्ने अक्षयकोषमा एकैदिन २१ हजार २१० रुपैयाँ प्रदान गर्ने घोषणा गरिएको छ।
मेचीनगरका सञ्चारकर्मीहरुको छाता संगठन प्रेस क्लबको प्रस्तावित अक्षयकोषमा सभाका सहभागी वडा नं ५ का अध्यक्ष कनक कार्कीले ५ हजार, वडा नं ७ का अध्यक्ष प्रह्लादमणी ओलीले ५ हजार १ सय, वडा नं ८ का अध्यक्ष गिरीराज धमलाले ५ हजार ५ सय ५५ तथा क्लबका उपाध्यक्ष जीआर धितालले ५ हजार ५ सय ५५ रुपैयाँ कोषमा हस्तान्तररण गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

यसअघि क्लबकी पूर्व उपाध्यक्ष अम्विका भण्डारीले कोषमा ५ हजार रुपैयाँ प्रदान गरेकी छिन् । त्यस्तै क्लबका पूर्व अध्यक्ष मुक्ति पौडेलले १० हजार, क्लबका अध्यक्ष डम्बर बरालले रु ५ हजार प्रदान गर्ने घोषणा गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नः१ का सभा सदस्य गोपाल तामाङले प्रेस क्लबको उन्नयनका लागि न्यूनतम १० वर्षका लागि प्रतिवर्ष १५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
कार्यक्रममा क्लबका अध्यक्ष डम्बर बरालले अध्यक्षको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष बिनिशा शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । क्लबका उपाध्यक्ष जिआर धितालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव देबु बानियाँले गरेका थिए ।

