
२७ पुष, कांकरभिट्टा ।नेपाल आदिवासी जनजाति महासंघ मेचीनगरको अधिवेशन पुष २८ गते शनिवार हुने भएको छ ।
अधिवेशनका बारेमा जानकारी दिने उद्देश्यले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।
महासंघको पाँचौ नगर अधिवेशन पहिचानको आन्दोलनकै रुपमा आयोजना गरिनुका साथै प्रदेश नामाकरणको बिरोधका रुपमा सम्पन्न गर्ने महासंघ मेचीनगरका अध्यक्ष ओमप्रकाश खापुङले बताए ।
प्रमुख अतिथिका रुपमा रहेका अधिवक्ता शंकर लिम्बुले आदिवासी जनजातिको अधिकार र पहिचानको बिषयलाई स्पष्ट पार्ने महासंघका झापा उपाध्यक्ष केवलराम राईले बताए ।
दक्षिण एसियाबाट संयुक्त राष्ट्र संघमा प्रतिनिधित्व गरिसकेका लिम्बुले आदिवासीको अधिकार र प्रदेश नामाकंनमा आदिवासीहरुले उठाएको पहिचानको अधिकारको बिषयमा जानकारी गराउने पत्रकार सम्मेलनमा राईले जानकारी दिए ।
काकरभिट्टाको सामुदायिक भवनमा आयोजना हुने अधिवेशनमा अग्रजहरुको सम्मान, आदिवासी जनजाति समुदायका जनप्रतिनिधिहरूलाई सम्मान,साँस्कृतिक कार्यक्रम र र्यालीको समेत आयोजना गरिएको अध्यक्ष खापुङले बताए।
अधिवेशनले आगामी कार्यकालका लागि आदिवासी जनजाति महासंघ मेचीनगरको नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।
मेचीनगरमा रहेका १९ वटा जातिय संगठनका तर्फबाट एक जना प्रतिनिधि र पाँच जना पर्यवेक्षक सहित करीब एक हजार जनाको सहभागिता हुने महासंघ मेचीनगरका सचिव चिरञ्जीवि खवासले जानकारी दिए।
काकरभिट्टा निवासी झापा क्षेत्र नं. १ प्रदेशसभा क बाट निर्वाचित प्रदेश सांसद गोपाल तामाङलाई पहिचान बिरोधी भएर प्रदेश नामाकरणमा सहभागि भएकाले र कोशी नाम खारेजीको क्रममा पहिचानबिरोधी कित्तामा उभिएकाले उनकै आँगनमा हुने कार्यक्रममा सहभागि नगराउने महासंघ झापाका उपाध्यक्ष केवलराम राईले बताए ।

