३ माघ, दमक ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले २०५८ पछि स्नातकोत्तर भर्ना भएका विद्यार्थीका लागि थेसिस बुझाउने अन्तिम अवसर उपलब्ध गराएको छ ।
त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको पुस २५ मा बसेको बैठकले विभिन्न कारणले थेसिस गर्न छुटेका विद्यार्थीका लागि अन्तिम पटकका लागि भन्दै थेसिस बुझाउने मौका दिने भएको हो ।
परिषद्को स्थायी समितिको बैठकको १०२ नम्बरको निर्णयमा मानविकी तथा सामाजिक शास्त्र संकाय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान र शिक्षा शास्त्र संकाय अन्तर्गतका विद्यार्थीका लागि परीक्षा सुधार तथा समन्वय परिषद्को बैठकको सिफारिस अनुसार स्नातकोत्तर तहका विद्यार्थीका लागि २०८१ असार मसान्तभित्र थेसिस बुझाउने अवसर दिने उल्लेख छ ।
त्रिविका अनुसार सैद्धान्तिक परीक्षा उत्तीर्ण गरेर थेसिस, टर्मपेपर, प्रोजेक्ट रिपोर्ट, इन्टर्नसिप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पूरा नभएका विद्यार्थीले २०८१ असार मसान्तसम्ममा यी कार्य सम्पन्न गरेर भाइभासमेत गर्न दिने गरी निर्णय भएको छ ।
त्यस्तै एमफिल तहमा २०६८ सालमा भर्ना भएर अहिलेसम्म थेसिस गर्न नसकेका विद्यार्थीका लागि पनि स्नातकोत्तरतहका विद्यार्थीकै सरह सुविधा दिने निर्णय त्रिविले गरेको हो ।


