आन्दोलन चर्कने संकेत, वार्ता समिति गठन गरेर फकाउने प्रयास
३ माघ, ताप्लेजुङ ।

याक्थुङ लिम्बूहरुको आगाध आस्थाको धरोहरका रूपमा रहेको मुन्धुमी क्षेत्र सेमुक्ति कोक् (मुक्कम्लुङ) मा केवुलकार सञ्चालनको योजना अन्योलमा परेको छ । मुन्धुमी पवित्र क्षेत्रमा वन विनाश गरेर केवुलकार निर्माण गर्न नदिने भन्दै त्यहाँ केही वर्षयता स्थानीयको आन्दोलन जारी छ ।
पाथीभरा देवी दर्शन केबुलकार प्रा. लि. नामक निजी कम्पनीले आउँदो असारबाट यस क्षेत्रमा केबुलकार निर्माण गर्ने प्रयास थालेसँगै मुन्धुमी मौलिकता संरक्षणका लागि स्थानीय आन्दोलित बनेका हुन् ।
हालसालै पाथीभरा देवी दर्शन केबुलकार प्रा. लि.को शतप्रतिशत शेयर यती ग्रुपबाट आइएमई ग्रुपले किनेको छ । केबुलकार प्रा. लि. आइएमई ग्रुपको स्वामत्विमा आएसँगै सरकारी पक्ष पेलेरै भए पनि यस क्षेत्रमा केबुलकार निर्माण गराउने प्रयासमा देखिन्छ ।
आन्दोलनरत पक्षले भने केबुलकार निर्माण गर्न नदिने बताउँदै आएको छ । ‘महत्त्वपूर्ण धार्मिकस्थलहरुमा केबुलकार निर्माण गरिने चलन छैन ।
यस्ता पवित्रस्थलहरुलाई अपवित्र बनाउने प्रयास गरिनु गलत छ’, मुक्कुम्लुङ क्षेत्रमा केबुलकार निर्माणको विरोध गर्दै आएको लिम्बू जातिको साझा संस्था किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले भनेका छन् । पुँजीवादीहरुले नाफा कमाउन गलत काम गर्न चाहेको उनको आरोप छ ।
लामो समयदेखि मुक्कुम्लुङ संयुक्त संघर्ष समिति गठन गरेर केबुलकार निर्माणको विरुद्ध संघर्ष गरिरहेका संयोजक श्री लिङ्खिमले याक्थुङ लिम्बूहरुको पवित्रस्थलमा प्राकृतिक विनाश गरेर विकासका नाउँमा केबुलकार निर्माण कार्य गलत हुने धारणा राख्छन् । ‘प्रकृति नै नष्ट गरेर विकासको परिकल्पना गर्ने कुरा आधारभूत रूपमै गलत छ । हामी हाम्रो मुन्धुमी मौलिकताको रक्षाका निम्ति निरन्तर लड्छौँ’, उनले भनेका छन् ।
पाथीभरा क्षेत्र बिकास समितिले भने बुधबार आन्दोलनरत मुक्कुम्लुङ संयुक्त संघर्ष समिति र केबलकार खारेजी संघर्ष समितिसँग छलफल गर्न वार्ता टोली गठन गरेको छ ।
बुधबार क्षेत्र बिकास समितिका अध्यक्ष रक्की थेबेको अध्यक्षतामा बसेको बैठकले आन्दोलनरत पक्षसँग वार्ता गर्न समिति गठन गरेको हो ।
मुक्कुम्लुङ क्षेत्रको पर्यावरण, दुर्लभ वनस्पती र मुन्धुमी मौलिकता जोगाइराख्न निरन्तर आन्दोलन गरिरहेका समितिसँग केवलकार राख्ने प्रयासका लागि वार्ताको तयारी गरिएको हो । राज्य गठित क्षेत्र विकास समितिलगायत सरकारी निकाय र पाथीभरा केबलकार प्रा. लि. यस क्षेत्रको मुन्धुमी मौलिका र पर्यावरण नष्ट गरेर भए पनि केवलकार निर्माणको तयारीमा छ । केवुलकार निर्माणले विकास र सहजता थपिने उनीहरुको तर्क छ ।
तर, मुक्कुम्लुङ संयुक्त संघर्ष समिति र केबलकार खारेजी संघर्ष समितिले भने तल्लो फेदी काफ्लेपाटीदेखि सुरु गरिने भनिएको केवलकार निर्माण गर्न नदिने अडानका साथ संघर्षमा छ ।
पर्यावरणीय दृष्टिले समेत मुक्कम्लुङमा रुख काटेर केवुलकार चलाउने योजना गलत हुने किरात याक्थुङ चुम्लु्ङले जिकिर गरेको छ । मुन्धुमी मूल्य मान्यतामा खलल पुग्न नदिने चुम्लुङको भनाई छ । त्यस क्षेत्रमा संघर्षका विभिन्न कार्यक्रम जारी रहेका छन् ।
सरकारी पक्षले आन्दोलनरत पक्षसँग आबश्यक छलफल गरी वार्ताको माध्यमबाट समस्याको समाधान गर्ने बताएको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाको संयोजकत्वमा नौ सदस्यीय सरकारी वार्ता समिति गठन गरिएको हो ।
वार्ता समितिका सदस्यहरुमा फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा याङवरक गाउँपालिकाका अध्यक्ष केशर कुमार मेन्याङ्बो, सिरिजंघा गा.पा.का अध्यक्ष लालकृष्ण चौहान, फक्ताङलुङ गा.पा.का अध्यक्ष राजन लिम्बू ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल, क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे र ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापा रहेका छन् । सरकारी वार्ता समितिको सदस्य सचिवमा पाथीभरा मुक्कुमलुङ केबलकार प्रा. लि. का रुद्र पौडेल छन् ।



