८ माघ, बिर्तामोड ।

झापा गोल्डकपको छैटौँ संस्करण आउँदो फागुन १९ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने सो प्रतियोगिताको मिति बारे मंगलबार विज्ञप्तिमार्फत जानकारी दिइएको हो ।
गोल्डकपको छैटौँ संस्करणका विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउनेछन् । त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।
प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लबसहित नेपालका ७ र विदेशी ३ गरी १० वटा टिमको सहभागिता रहने बताइएको छ ।
झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतबाट जारी विज्ञप्तिमा भनिएको छ –‘काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापा जिल्लालाई फुटबल हबको रुपमा विकसित गराउन हामी २०७२ सालबाट लागिपरेका छौँ । विगतमा देशभित्र र मुलुकबाहिर पनि घरेलु टिम झापा ११ फुटबल क्लबको विकास र प्रवर्धनसँगै झापा गोल्डकपलाई निरन्तर रुपमा सञ्चालन गर्नका लागि सबैजना सक्रियताका साथ अगाडि बढिरहेका छौँ ।’
छैटौँ संस्करणको उद्घाटन समारोहमा झापा जिल्लाका एकजना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने र खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिने गोल्डकपले जनाएको छ ।
एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिता सम्पन्न गर्न झापाली उद्योगी व्यवसायी र खेलप्रेमी महानुभावहरु, पत्रकार, मिडिया हाउसहरुको भूमिका महत्वपूर्ण भन्दै आयोजकले सहयोगको लागि अपिलसमेत गरेको छ ।
प्रतियोगिता सञ्चालनका लागि महासचिव गजेन्द्रबहादुर पौडेलकोे नेतृत्वमा ६ सदस्यीय सचिवालय गठन गरिएको विज्ञप्तिमा जनाइएको छ ।
सचिवालय सदस्यहरुमा क्रमशः केशव भट्टराई, विशाल नेम्वाङ, हिमाल खरेल, भूमिका सुब्बा र चन्द्र तिम्सिना चयन भएका बताइएको छ ।

