९ माघ, जनकपुरधाम ।

सीके राउत नेतृत्वको जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । जनमत पार्टीका दुई जना प्रदेश मन्त्रीले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
सरकारमा बसेर सरकारकै वार्षिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा होहल्ला गरेको, सदन अवरोध प्रयास गरेको र सरकारले आयोजना गरेका सार्वजनिक कार्यक्रमहरुमा हुलहुज्जत गरी बिथोल्ने प्रयास गरेपछि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जनमतका मन्त्रीहरुलाई कि सरकार छाड्न कि मर्यादामा रहन चेतावनी दिएका थिए ।
तर, सोमबार सप्तरीस्थित मधेश कृषि विश्वविद्यालयमा निर्माण हुन लागेका विभिन्न भौतिक संरचनाको शिलान्यास कार्यक्रममा जनमतबाट शिक्षा तथा संस्कृति मन्त्री बनेका महेशप्रसाद यादवसहितको जमातले जसपा अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवविरुद्ध प्रदर्शन गर्दै कार्यक्रम नै बिथोल्ने प्रयास गरेको थियो । मन्त्री यादव सो प्रदर्शनका क्रममा सामान्य घाइतेसमेत भएका थिए ।
मंगलबार शिक्षा मन्त्री यादव र जनमतबाटै श्रम तथा यातायात मन्त्री बनेका चन्दन सिंहले मन्त्रीबाट राजीनामा गरे ।
जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको जनमत पार्टीका प्रवक्ता शरद सिंहले पुष्टि गरेका छन् । उनले भनेका छन् –‘सरकार निर्माण गर्दा एक वर्षपछि जनमतलाई सरकारको नेतृत्व दिने सहमति थियो । तर, त्यो लागू नहुने भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिएका हौं ।’
मधेश प्रदेशमा सत्ता गठबन्धनको नेतृत्व गरिरहेको जसपाले भने जनमत पार्टीले केन्द्रीय सत्ता गठबन्धनको निर्णय विपरित राष्ट्रिय सभामा उम्मेद्वारी दिनेदेखि मधेश प्रदेश सरकार सञ्चालनमा समेत असहयोग गर्दै आएको बताएको छ ।
जसपा मधेश प्रदेश स्रोतका अनुसार जनमत पार्टीका प्रदेश मन्त्रीहरुलाई कारबाही गर्ने मुख्यमन्त्री सरोजकुमार यादवको तयारी थाहा पाएपछि हत्तारमा राजीनामा दिएका हुन् ।


