१७ फगुन, दमक ।
शुक्रबार र शनिबार झापाको दमक–७ पशुहाटमा सञ्चालन हुन लागेको तेस्रो याक्थुङ साम्लो महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको छ ।
आयोजक फक्ताङलुङ साँस्कृतिक मञ्च ललितपुरले बिहीवार महोत्सवस्थलमा पत्रकार सम्मेलन गरी तयारी सकिएको जानकारीदिएको हो ।
किरात याक्थुम चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यमा माङलाङ, केलाङ, येबा/येमालाको साथमा विशालर्यालीसहित महोत्सवको समुद्घाटन हुने मञ्चका अध्यक्ष तथा कार्यक्रम संयोजक पूर्ण कुमार सेर्मा यादनले जानकारी दिए ।
औपचारिक कार्यक्रम ५ बजे सकेर पाहुना तथा अतिथि बिदाइ भए पनि अन्य कार्यक्रमहरु १० बजे सम्म सञ्चालन हुने आयोजकको भनाइ छ ।
महोत्सवको पहिलो साँझ पालाम, हाक्पारे, ख्याली र धान नाँचको साथमा ख्यातिप्राप्त कलाकारहरु दिपक लिम्बू, मनु नेम्बाङ, ताराप्रकाश लिम्बू, शाहिल लिम्बू, गोविन्द लिम्बू, नोगेन लिम्बू, रुक्शाना लिम्बू, एकान्त लिम्बू र अन्य कलाकारले सांगीतिक प्रस्तुतिदिने बताइएको छ।
“याक्थुङ साम्लो साम्लोरिलो, साम्लोइ लोइ लाम्लोरिरो” मूल नारासहित सञ्चालन हुन महोत्सवको मुख्य उदेश्य लिम्बू समुदायभित्रको लोपन्मुख, गीत संगीत र कलालाई उजागर गर्दै यसको उत्थान, संरक्षण र सम्वर्द्धनसहित विश्वव्यापी प्रचारप्रसार गरिपछिल्लो पुस्तासम्म पुर्याउनु रहेको मञ्चको दावी छ ।
प्रवेश नि:शुल्क रहने महोत्सवमा १९ गते भने याक्थुङ साम्लोमा माङसिवाखाहुन र लोपोन्मुख याक्थुङ साम्लोमा ताम्के विषयक दुईवटा कार्यपत्र दमकको किरात भवनमा प्रस्तुत हुनेछ ।
यसअघि हाक्पारे पालाम महोत्सव भनेर पहिलो पटक पाँचथरको फिदिम र दोस्रो तेह्रथुमको म्याङलुङमा सम्पन्न भएको थियो ।हाक्पारे पालाम महोत्सव नामले हाक्पारे र पालामलाई मात्र समेट्ने हुँदा व्यापक बनाउन तेस्रो संस्करणमा नाम परिवर्तन गरिएकोआयोजकको जिकिर छ ।