सजन राई ।
२७ चैत, इलाम । इलाममा आप्रवासी कामदार सञ्जालको क्षमता अभिवृध्दि तालिम सम्पन्न भएको छ । इलाम नगरपालिका ७ फूलगाछी स्थित कुटुम्ब होटेलको सभाहलमा दुईदिने तालिम सम्पन्न भएको हो ।
आप्रवासी हकहित संरक्षण केन्द्र जिल्ला कार्य समिति इलामको आयोजना रहेको तालिममा इलाम नगरपालिका र सुरक्षित आप्रवासन कार्यक्रम सामीको आर्थिक सहयोग रहेको थियो । कार्यक्रमको प्राविधिक सहयोग सामी हेल्भटस प्रदेश सहयोग इकाईको रहेको थियो ।
जिल्लाका १० वटै स्थानीय तहको प्रतिनिधिमूलक सहभागितामा सञ्चालित तालिममा आप्रवासी सञ्जाल, वैदेशिक रोजगारबाट फर्किएका आप्रवासीहरु र तिनका परिवार सदस्यहरुको उपस्थिति रहेको थियो ।
“आप्रवासी कामदार तथा तिनका परिवार एक हौ”, “सके स्वदेशमै स्वरोजगार बनौं, विदेश जाने नै भए सही सूचना लिएर सीप सिकेर मात्र जाऔं “ भन्ने मूल नारा रहेको तालिमको उद्देश्य नै सिक्ने र सिकाउने रहेको आयोजक संस्थाका सचिव सन्तोष लुइटेलले जानकारी दिए ।
वैदेशिक रोजगारी नजाउन भन्ने हो तर जानै परे सिप सिकेर, भाषा सिकेर र गन्तव्य देशको विषयमा बुझेर जाउन साथै जादै गर्दा आवश्यक कागजातहरुको फोटोकपि परिवार सदस्यलाई बुझाएर जान पनि आग्रह गरे ।
संस्थाका अध्यक्ष जिज्ञासा तामाङका अनुसार वैदेशिक रोजगारीमा भएका विभिन्न समस्याहरुलाई कसरी हल गर्ने भन्ने धेरैलाई थाहा नभएको र ठगिका समस्याहरु बढिरहेको छ । धेरैजनाको विदेशमा मृत्यु हुन्छ,अंगभंग भएकाहरु धेरै छन, धेरै जना विदेशमा नै छन् । उनले भनिन् “परिवारका सदस्यहरुलाई पर्ने समस्याका समाधानको निम्ति यो तालिम प्रभावकारी हुनेछ ।”
तालिममा सामी हेल्भटस प्रदेश सहयोग इकाइका रोहित कुमार विक र देव नारायण चौधरी, सामी इलामका सामाजिक परिचालन अधिकृत गणेश प्रसाद श्रेष्ठ, सामी कार्यक्रम इलाम संयोजक जमुना खरेल, रेमी सूर्योदय नगरपालिका रोजगार परामर्श कर्ता ईश्वरी तामाङ र इलाम नगर प्रमुख प्रशासकीय अधिकृत गणेश कुमार खड्काले सहजीकरण गरेका थिए ।