adv

याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ ३ हुँदै, बैशाख १ बाट अडिसन सुरु

चैत २८, दमक ।

याक्थुङ लिम्बू कलाकारहरुको छाता संगठन फक्ताङलुङ साँस्किृतिक मञ्च केन्द्रीय समितिले याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उद्देश्यका साथ ‘याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ (सिजन ३) गायन प्रतियोगिता गर्ने भएको छ ।

बुधबार पत्रकार मञ्च दमकको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा फक्ताङलुुङ आइडल सिजन ३ बारे जानकारी दिइएको हो ।

मञ्चले यसअघि फक्ताङलुङ आइडल सेकफुङ १ र सेकफुङ २ सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिँदै त्यसकै निरन्तरता स्वप ‘याक्थुङ साम्लो साम्लोरिरो, साम्लोइ लोइ लाम्लोरिरो’ भन्ने मूल नाराका साथ ‘याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ ३’ गायन प्रतियोगिता आयोजना गर्न लागेको बताइएको छ ।

फक्ताङलुङ साँस्कृतिक मञ्चका केन्द्रीय अध्यक्ष पुर्णकुमार सेर्मा (यादन)ले दिएको जानकारीअनुसार सिजन ३ को लागि आवश्यक तयारी सुरु गरिएको हो ।

उनका अनुसार प्रतियोगिताको अडिसन बैशाख १ गतेबाट सुरु हुनेछ भने अडिसनको अवधि एक महिनाको हुनेछ । अडिसनका लागि याक्थुङ भाषामा जुनै पनि गीत बिना ट्रायक गाएर वाट्सएप र मेलमा पठाउनु पर्ने हुन्छ ।

यसअघि सम्पन्न याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ १ को उपाधि रविकिरण मादेनले जितेका थिए भने सेकफुङ २ को उपाधि तिर्सना नेम्बाङले जितेकी थिइन् ।

सिजन ३ का विजेताले नगद ५ लाख, ट्रफी र प्रमाणपत्रसहित एउटा अडियो एल्बम र विदेशमा सांगीतिक भ्रमणको अवसर प्राप्त गर्नेछन् ।
त्यस्तै, फस्र्ट रनरअपले नगद २ लाख पचास हजार, ट्रफी र प्रमाणपत्रसहित ४ वटा गीत अडियो स्टुडियो, लिप्सिङ भिडियो र एउटा भिडियो, विदेशमा दुई देशका लागि सांगीतिक भ्रमणको अवसर प्राप्त गर्नेछन् ।

आइडलका सेकेन्ड रनरअपले नगद १ लाख २५ हजार, ट्रफी र प्रमाणपत्रसहित ३ वटा साम्लो स्टुडियो भिडियो रेकर्डिङ, विदेशमा एउटा देशका लागि सांगीतिक भ्रमणको अवसर प्राप्त गर्नेछन् भने सान्त्वना प्रतिभाले नगद ६० हजार, ट्रफी र प्रमाणपत्रसहित २ वटा साम्लो रेकर्डिङ साथै स्टुडियो भिडियोको अवसर पाउने छन् ।

मञ्च पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगिताका टपटेनले एउटा एउटा साम्लो रेकर्डिङ साथै स्टुडियो भिडियो, सब टाइटल साथै आकर्षक गिफ्ट ह्याम्पर र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको कार्यक्रम रुपरेखा :

अडिसन आवेदन : बैशाख १ देखि जेठ १ गतेसम्म ।

डिजिटल अडिसन : जेठ १५ देखि असार १५ सम्म डिजिटल अडिसनबाट टप १५ प्रतियोगी छनौट गर्ने ।

लाइभ अडिसन : टप १५ बाट टप १० छनौट गर्ने ।

स्थान : इलाम बजार बस पार्क छेउमा अवस्थित फ्रेन्ड्स होटल ।

मिति : २०८१ साउन २० गते ।

क्याम्पिन : मुन्धुमी स्थल तेह्रथुममा एक महिने मुन्धुमी संगीत प्रशिक्षण भदौं १ देखि असोज १ गतेसम्म ।

फाइनल राउन्ड : २०८१ भदौ ५ गते देखि असोज २० गते सम्म पान्थर जिल्लामा १० प्रतिस्पर्धीहरुलाई विभिन्न विधामा प्रतिस्पर्धा गराउँदै प्रथम, दोस्रो, तेस्रो र सान्त्वना घोषणा गरी पुरस्कृत गराउने र आइडल समापन गर्ने ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु