२९ चैत, धरान ।
सफलता हासिल गरेका तथा समाजमा विशेष योगदान पु¥याएका इवाहाङ वंशका व्यक्तित्वहरूलाई सम्मान गर्दै इवाहाङ वंश विकास केन्द्रीय कार्य समितिको दोस्रो वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।
धरान १० को सैनिक भवनमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य स्व. महिन सुब्बा, संस्थाका संस्थापक तथा समाजसेवीद्वय स्व. राजेन्द्रप्रसाद इवाहाङ र देव इवाहाङलाई मरणोपरान्त सम्मान गरिएको थियो ।
सो अवसरमा वंशका संस्थापक तथा समाजसेवी प्रेमकुमार इवाहाङ, वायुसेवा निगममा नाम निकाल्न सफल विष्णुकुमारी इवाहाङ, बेलायतबाट ब्याचलर अफ मेडिकल साइन्स उत्र्तीण गरेका संगीता इवाहाङ र रंगीता इवाहाङ, शिक्षक सेवा आयोगमा नाम निकाल्न सफल सम्फाकुमारी इवाहाङलगायतलाई कार्यक्रमका प्रमुख अतिथि एवम् किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष डा. कलम तिगेलाले सम्मानपत्र प्रदान गरेका थिए ।
इवाहाङहरूको पुर्खा डुल्दै घुम्दै फाक्सिपको वासाप्ला भन्ने ठाउँमा आएर बसोवास गर्न थालेको इतिहास रहेको डा. तिगेलाले जानकारी दिए ।
महेन्द्र बहुमुखी क्याम्पस धरानका पूर्वस्ववियू सभापति सागर सरगम चेम्जोङले विश्वव्यापीकरणका कारण अहिले जातीय पहिचानहरू लोप हुँदै गएको अवस्थामा इवाहाङ वंश विकास समिति गठन भएबाट सिङ्गो याक्थुङ लिम्बू समुदायको अस्तित्व संरक्षणमा सहयोग पुगेको बताए ।
त्यस क्रममा आयोजक समितिका अध्यक्ष कृष्णबहादुर सुब्बाले वंशको केन्द्रीय कोषबाट कल्याणकारी कार्यअन्तर्गत यस वर्ष स्वास्थ्य उपचारबापत तीन जनालाई जनही १५ हजार रूपैयाँका दरले सहयोग गरेको जानकारी दिए ।
कार्यक्रममा गायक डीबी थेगिमलगायतका कलाकारहरूले पालाम, गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।