adv

इलाम २ उपनिर्वाचन – उम्मेद्वारको दौडधुप, मत माग्न तामझाम

१० बैशाख, इलाम ।


यहि बैशाख १५ गते इलाम २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । यस निर्वाचन क्षेत्रबाट बाजी मार्न १९ जना उम्मेद्वार चुनावी मैदानमा छन् । ८ जना स्वतन्त्र र अन्य उम्मेद्वार विभिन्न राजनीतिक दललाई प्रतिनिधित्व गर्दै चुनावी मैदानमा जनतासँग भोटको याचना गरिरहेका छन् ।

इलाम २ मा बढेको चुनावी सरगर्मी हेर्दा खासगरी दलीय रूपमा एमाले, काँग्रेस, रास्वपा, राप्रपा, नेकपा एस र जनमत पार्टी प्रचारात्मक अभियानमा बढी सक्रिया देखिन्छन् भने स्वतन्त्रतर्फ पहिचानवादी समूहका उम्मेद्वार डकेन्द्रसिंह लिम्बूको चुनावी प्रचार अभियान आक्रमक देखिन्छ ।

खासगरी यतिबेला इलाम सदरमुकामको चोक बजार, देउमाईको मंगलबारे बजार, माङसेबुङको गजुरमुखी बजार, इभाङ, चिसोपानी पञ्चमी, माङमालुङ, भालुटार, चुलाचुलीको बाह्रगोठे, आइतबारे, तोरीबारी, फुङनाम, दशमी, महमाई आदि ठाउँहरुलाई उम्मेद्वारहरुले चुनावी कार्यक्रमस्थल बनाएका छन् ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालमा २०४८ सालमा आम निर्वाचन भयो । त्यस यता २०५१ को आम निर्वाचनमा बाहेक बाँकी ६ वटा निर्वाचनमा एमालेले इलाम २ बाट बाजी मार्दैआएको इतिहास छ । २०५१ मा भने काँग्रेस नेता कुलबहादुर गुरुङ विजयी बनेका थिए ।

गत २०७९ को प्रतिनिधिसभा निर्वाचनमा समेत एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ झिनो मतान्तरले विजयी बनेका थिए । ३० हजार २० मत प्राप्त गरेर नेम्बाङले बाजी मार्दा काँग्रेसका खड्काले २९ हजार ९०६ मत पाएर निकटतम प्रतिद्वन्द्वी बनेका थिए । तर, गत भदौमा नेम्बाङको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

एमालेले यस उपनिर्वाचनमा उनै सुवास नेम्वाङका छोरा सुहाङ नेम्बाङलाई उम्मेद्वार बनाएर चुनावी कार्यक्रम गरिरहेको छ । सुहाङको पक्षमा जनलहर ल्याउन एमाले अध्यक्ष केपी शर्मा ओली एक पटक इलाम आएर भाषण गरिसकेका छन् । ‘सुहाङलाई जिताएर पठाएर इलामको विकासको जिम्मा एमालेले लिने’ दावी गरेका ओली पुनः बैशाख ११ गते उनै सुहाङको चुनावी सभालाई सम्बोधन गर्न फेरि निर्वाचन क्षेत्रमा आउँदै छन् ।

काँग्रेसबाट गत निर्वाचनमा स्वर्गीय नेम्बाङसँग झिनो मतान्तरले पराजित डम्बरबहादुर खड्काले नै टिकट पाएका छन् । खड्का यस पटक जसरी पनि नतिजा आफ्नो पाल्टामा पार्ने प्रयासमा छन् । खड्कालाई दोस्रो पटकको प्रयासमा संसद् भवन छिराउने उच्च महत्वकांक्षाका साथ काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा आफै चुनावी कमाण्डरका रूपमा मैदानमा छन् ।

अर्का महामन्त्री गगन थापाले भने सुवासको निधनपछि सुहाङले एमालेबाट टिकट पाएको घटनालाई लक्षित गर्दै ‘पारिवारिक विरासत अन्त्य गर्नुपर्ने’ कडा अभिव्यक्ति दिएका छन् ।

गत निर्वाचनबाट पुराना दलहरुको बेथितिविरुद्ध आगो ओकल्दै जन्मिएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने पूर्वपत्रकार मिलन लिम्बूलाई उम्मेद्वार बनाएर चुनावी प्रचारमा व्यस्त छ ।

चुनावी मैदानमा पार्टीका शीर्ष नेताहरुको प्रचुर आगमनका हिसाबले रास्वपा पहिलो देखिएको छ । पार्टी सभापति एवम् गृहमन्त्री रवि लामिछाने लिम्बूको उम्मेद्वारी दर्ताका क्रममा इलाम आएका थिए । केही दिनयता उनी निर्वाचन क्षेत्रका चोक बजारहरुमा आयोजना हुने स–साना कोणसभाहरुमा बोलिरहेका छन् ।

लामिछाने सुशासन र सेवा प्रवाहका कुरा मात्रै गरिरहेका छैनन्, ‘मत प्रभावित पार्न कसैले पैसाको चलखेल गरे माथिको निर्देशन नपर्खी प्रहरीले संलग्नमाथि कानुनी कारबाही बढाउनु’ भन्दै चेतावनीमूलक निर्देशन दिइरहेका छन् ।

यस्तै, राप्रपाका लक्ष्मी गुरुङको उम्मेद्वारी घोषणालाई इलाम आएर पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले सम्बोधन गर्नेदेखि राप्रपा नेता ज्ञानेन्द्र शाहीलगायतले चुनावी घरदैलोमा साथ दिएका छन् ।

नेकपा एसका उम्मेद्वार जितबहादुर राईको उम्मेद्वारी मनोनयनमा पूर्व प्रधानमन्त्री एवम् पार्टीका वरिष्ठ नेता झलनाथ खनालको उपस्थितिलाई राजनीतिक अर्थमा हेरिएको छ ।

जनमतका प्रेमदिप थाम्सुहाङ पनि निर्वाचन क्षेत्रका विभिन्न स्थानहरुमा मत माग्दै हिँडिरहेका छन् । तर, उनी बढी आफ्नै जन्मस्थान चुलाचुली केन्द्रित छन् । प्रदेश १ को नाम किरात लिम्बुवान हुनुपर्ने अभियानको नेतृत्व आफूले गरेका कारण पहिचानवादीको सहानुभूति आफूलाई हुने उनको बुझाई छ ।

मूलवासी मंगोल समुदायको राजनीतिक नेतृत्वका निम्ति क्रियाशील भएको दावी गर्ने मंगोल नेशनल अर्गनाइजेशन (एमएनओ) ले मनिबहाुदर लिम्बूलाई इलाम २ को उम्मेद्वार बनाएको छ । कुनै समय यस क्षेत्रबाट दोस्रो मत प्राप्त गरेको एमएनओको अहिलेको अवस्था बिगत जस्तो छैन । तर, उम्मेद्वार लिम्बूले चुनावी प्रचारलाई प्रचारात्मक किसिमले अगाडि बढाएको देखिन्छ । चुनाव चिन्ह भालेको प्रचार गरिएको भेटिएको छ ।

यी उम्मेद्वारहरुले भने अन्य दलका उम्मेद्वारले जस्तो मेलैमारी भोट मारिहेको देखिँदैन । तर, उनीहरको प्रचारात्मक पोष्टर, फ्लेक्स, पर्चा र चुनाव चिन्ह भने क्षेत्रका लगभग सबै चोक बजारमा पुगेको देख्न सकिन्छ । भोट माग्ने कार्यक्रम भने आ–आफ्नो पकड क्षेत्रमा केन्द्रित देखिन्छ ।

पहिचानवादीका तर्फबाट जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय जनमुक्ति पार्टीसहित प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको तर्फबाट साझा उम्मेद्वार डकेन्द्रसिंह लिम्बू स्वतन्त्र मुढा चिन्हसहित चुनावी मैदानमा छन् ।

लिम्बूको मत मागिदिन इलाम क्षेत्र नम्बर २ का भन्दा बाहिरका नेताहरुको लर्को लागेको छ । राजधानी र देशका अन्य भूभागका पहिचानवादी नेताहरु लिम्बूको चुनावी अभियानमा देखिन्छन् । उनको चुनावी अभियान हेर्दा मतदाता भन्दा पनि बढी मत माग्ने जमात देखिन थालेको छ ।

छोरा र छोरी दुर्व गायक र गायिका हुनुको फाइदा भने लिम्बूलाई छ । यतिबेला एकदेव लिम्बू र सुनिता थेगिमले बुबाको चुनावी प्रचार कार्यक्रममा गीत गाउने र सहभागीलाई नचाउने कार्यमा व्यस्त देखिन्छन् ।

लिम्बूलाई समर्थन गर्ने भन्दै धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले समेत बेलाबेला आफ्ना समर्थकहरुको हूलसहित इलाम २ का विभिन्न स्थानमा हुने कार्यक्रममा सहभागिता जनाइरहेका छन् ।

मतादाताका घरघरमा पुग्न नसकेपछि सबै दलका उम्मेद्वार र स्वतन्त्र उम्मेद्वारले राँटो मारे झैँ इलाम २ का सबै पालिकाका मुख्य बजार र मानिस जमघट हुने स्थानहरुमा पुग्ने र आफ्ना कुरा राख्ने काम गरिसकेका छन् । सम्भावित मत बढ्न सक्ने ठाउँहरु छानेर उनीहरु पुनः विभिन्न कार्यक्रम लिएर मत माग्न पुगेका छन् ।

चुनावी माहोल आफूतिर आकर्षित गर्न दलहरुले विभिन्न विकासे स्किम जनतामाझ राखिरहेका छन् । स्थानीय तह निर्वाचनमा वडा अध्यक्षका उम्मेद्वारले जस्तो घरघरमा धारा, रोजगारी जस्ता सस्तो लोकप्रियताका नारादेखि सिङ्गो शासकीय व्यवस्था नै परिवर्तन गरिदिने किसिमका बुँदा दल र अन्य उम्मेद्वारका चुनावी प्रतिबद्धता पत्रमा उल्लेख छन् ।

६ वटा स्थानीय तह रहेका इलाम २ मा इलाम नगरपालिकाको एउटा बाहेक पूरै ११ वटा वडा, माई नगरपालिकाको ३ वटा वडा, देउमाई नगरपालिका पूरै, फाकफोकथुम गाउँपालिका पूरै, माङ्सेबुङ गाउँपालिका र चुलाचुली गाउँपालिका पूरै वडा गरी ४२ वटा वडा रहेका छन् ।

चुनावी घरदैलो गर्ने नाउँमा दलका उम्मेद्वार हुन् वा स्वतन्त्र उम्मेद्वार सबैको पारा भने बिगतकै जस्तो विकासे प्रतिबद्धता नै हो । जो बिगतमा पनि दलहरुले बुँदा बुँदामा उल्लेख गरेर इलाम २ का जनतामाझ पुगेका थिए । उही बाटोको कुरा, उही विजुलीको कुरा, उही खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि उपजको सहज बजारीकरण लगायत लगायत ।

बिगतको मत परिणाम

गत निर्वाचनमा इलाम २ मा १ लाख ९ हजार ५३५ मतदाता रहेको थिए । ती मध्ये ५९ हजार १३६ मत खसेको थियो । जसमा एमालेका सुवास नेम्बाङ र काँग्रेसका डम्बर खड्काबीच निर्णायक भिडन्त भएको थियो । विजयी हुँदै नेम्बाङले ३० हजार २० मत प्राप्त गरेका थिए भने काँग्रेसका खड्काले २९ हजार ९०६ मत । दुई उम्मेद्वारका बीचमा मात्र ११४ मतको अन्तर रहेको थियो ।

२०७९ को समानुपातिक मत परिणाम हेर्दा पनि एमाले पहिलो बनेको थियो । एमालेले २६ हजार ५६२ मत पाएको थियो भने काँग्रेसलाई दोस्रो धेरै २२ हजार ३३३ मत प्राप्त भएको थियो ।

माओवादी केन्द्रले समानुपातिकतर्फ ५ हजार १५३ मत पाएको थियो भने समानुपातिकतर्फ रास्वपाले ४ हजार ६८६ मत पाएको थियो ।

पहिचानवादी विभिन्न दल जसपा, संलोराम र जनमुक्तिको समानुपातिक मत जोड्दा ३ हजार ६ सय ४८ मत पाएको देखिन्छ ।

त्यस्तै मंगोलको समानुपातिक मत १ हजार ६६१, राप्रपाको १ हजार १९१ र नेकपा एसको ५८६ देखिन्छ ।

अहिलेको समीकरण र मुख्य दावीदारी


बैशाख १५ को उपनिर्वाचनमा इलाम २ मा एमालेलाई नेकपा माओवादी केन्द्र र नेकपा सी (विप्लव समूह) को समर्थन रहेको छ । समानुपातिक मतकै आधारमा एमाले र माओवादीको एकमुष्ट मत ३१ हजार ७१५ हुने देखिए पनि यी दुवै पार्टीभित्रका खरो पहिचानवादीले यस पटक पहिचानवादीका तर्फबाट मुढा चिन्ह लिएर उठेका लिम्बूलाई मत दिने अनुमान गरिएको छ । यस्तो अवस्थामा एमालेको मत घट्ने देखिन्छ ।

यद्यपि, उम्मेद्वारका रूपमा मैदानमा रहेका सुवास पुत्र सुहाङको शालिन व्यक्तित्व, शिक्षित युवाको छवि र एमालेको दर्विलो पार्टी संगठनका कारण चुनाव जित्न समस्या नहुने एमाले नेताहरुको सार्वजनिक दावी छ ।

काँग्रेसले भने एमाले उम्मेद्वार सुहाङको पारिवारिक विरासतलाई मुद्दा बनाएर मतदाताको धारणा परवर्तन गराउने कोसिस गरेको देखिन्छ ।

लामो समय सुवासले निर्वाचन जितेको क्षेत्रमा जनताले पर्याप्त विकास नपाएको भन्दै आफूहरुले जिते यी सबै अधुरा काम पूरा गर्ने काँग्रेसी उम्मेद्वार र नेताहरुले बाचा गर्न थालेका छन् । एमालेको संगठित मत तिल्मिलाएको अवस्थामा त्यसको फाइदा काँग्रेसले लिन सक्ने देखिन्छ । काँग्रेससँग अघिल्लो निर्वाचनको आक्लन गर्ने हो भने २२ हजार ३३३ समानुपातिक मत छ । फेरिँदो परिस्थितिमा मत बढाउन सकिने काँग्रेसी दावी छ ।

एमालेको मत घट्न सक्ने अर्को कारक तत्त्वका रूपमा किरात धर्मगुरू आत्मनन्द लिङ्देनको प्रभावलाई पनि मानिएको छ । त्यसो त लारुम्बास्थित गुरू लिङ्देनसँग दर्शन भेट गर्ने र मत माग्ने कार्यमा एमाले, काँग्रेस, रास्वपा, जनमत पार्टीका नेता र उम्मेद्वार पुगिसकेका छन् ।

यद्यपि अधिकांशको दावी भने यस पटक लारुम्बा निर्देशित मत पहिचानवादीका साझा उम्मेद्वार लिम्बूलाई जानेछ । बिगतमा नेम्बाङलाई लारुम्बाको आशिर्वाद मिल्ने राजनीतिक चर्चाको विषय बन्थ्यो ।

प्रदेश १ मा पहिचानको नामाकरण गर्न एमालेले नमानेको र काँग्रेस र माओवादीले पनि उसैलाई साथ दिन पुग्दा कोशी प्रदेश नामाकरण हुन पुगेको आरोपलाई बलियो अस्त्रका रूपमा उपयोग गर्ने रणनीतिमा पहिचानवादीहरु यतिबेला छन् । उनीहरुको चुनावी अभियानमा यो झल्को देखिन्छ ।

पहिचानवादीका साझा उम्मेद्वार लिम्बूले एमाले र काँग्रेसबाट व्यापक मत काट्न सकेको अवस्थामा उनको पला भारी हुने धेरैको अनुमान छ ।

त्यस्तै, डेढ दशकदेखि राजधानीमा पत्रकारिता गरेर राजनीतिक पहुँच बनाएका र फोनिज आन्दोलनमा सक्रिय योगदान गरेका रास्वपा उम्मेद्वार मिलन लिम्बूको पक्षमा समेत माहोल बन्दै गएको धेरैको आँकलन छ । आफूलाई इलाम २ कै अकबरे उम्मेद्वार भएको दावी गर्दै आएका लिम्बू वाक क्षमता र मतदातामाझ सजिलै घुलमिल हुने किसिमका छन् ।

इलाम २ बैशाख १४ गतेसम्ममा १ लाख १५ हजार ८८९ मतदाता मतदानका लागि योग्य हुने निर्वाचन आयोगले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु