adv

इलाम २ उपनिर्वाचन – अन्तिम सभा सके दलहरुले, चुनाव जितिसकेको आ–आफ्नै दावी

भाषण सुन्ने मतदाता भन्दा चुनाव प्रचारमा आएका बढी

कमन देवान
१२ बैशाख, दमक ।


बैशाख १५ का लागि तोकिएको इलाम २ उपनिर्वाचनको अन्तिम चुनावी सभा र प्रचार प्रसार सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दलका र उपनिर्वाचनमा उम्मेद्वार बनेका स्वतन्त्र उम्मेद्वारहरुका लागि दिएको निर्वाचन प्रचार प्रसारको समयावधि सकिएको छ । बुधबार मध्यरातबाट मौन अवधि सुरु हुँदैछ ।

निर्वाचन प्रचारका लागि उपलब्ध समय सीमाको अन्तिम दिन प्रचार अभियानमा बलियो देखिएका दलहरु एमाले र रास्वपाले आमसभा आयोजना गरे । त्यस्तै, पहिचानवादीहरुको साझा उम्मेद्वार डकेन्द्रसिंह लिम्बूको चुनावी सभा आयोजना भयो ।

पहिचानवादी साझा उम्मेद्वार लिम्बूले आयोजना गरेको चुलाचुली ४ को आमसभा ।

यस पटक इलाम २ मा वान भर्सेस वानको बिगतको जस्तो प्रतिस्पर्धा भने नहुने देखिएको छ । चुनावी प्रचार प्रसारका लागि उपलब्ध भएको अन्तिम दिनको सदुपयोग गर्दै बुधबार एमाले, रास्वपा र पहिचानवादीका साझा उम्मेद्वार डकेन्द्र सिंह लिम्बूको चुनावी सभाहरु भए । ती सभाहरुमा गरिएको शक्ति प्रदर्शनले पनि यस पटकको निर्वाचनमा मुख्यगरी तीन दलका र एक पहिचानवादी साझा उम्मेद्वार गरी चार जनाबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

रास्वपाले देउमाई नपाको मंगलबारे बजारमा आयोजना गरेको आमसभा ।

यस पटकको उपनिर्वाचनमा इलाम २ मा आयोजित चुनाव प्रचार प्रसारलाई हेर्दा मतदाताको उस्तो सक्रिय सहभागिता र चासो देखिएन । तर, आफ्ना उम्मेद्वारलाई जिताउन चुनाव प्रचारका लागि खटिने दलका र स्वतन्त्रका नेता र प्रचारकर्ताहरुको भने बाक्लो भिडले इलाम २ लाई चलायमान बनायो ।

विभिन्न राजनीतिक दलका शीर्ष तहका नेतादेखि पूर्वप्रधानमन्त्रीहरु, बहालवला मन्त्रीहरु, पूर्व मन्त्रीहरु र सांसदहरुले इलाम २ मा चुनावी अभियान चलाइरहँदा उपनिर्वाचनको रौनक जसरी बढेर गयो, त्यसको ठीक विपरीत इलाम २ का मतदातामा भने खासै उत्साह सुरुबाटै देखिएन ।

एमालेले चुलाचुली २ को बाह्रगोठेमा आयोजना गरेको आमसभा ।

मतदाताहरुले भने ‘पहिले पनि आए, भोट पाए, जितेर गए । तर, बोलेका कुरा पूरा गरेनन्’ भनेरै निर्वाचनबाट आफूहरुलाई टाढै राख्ने प्रयत्न गरे । करैले उम्मेद्वारका सामु नमस्ते थापिदिन देखा परेका मतदाताले उम्मेद्वारहरुलाई खुलेर स्वागत र विश्वास गरेनन् । शंकाका प्रश्न भने गरे ।

पहिचानका नाउँमा विद्वेष फैलाउनु हुन्न : एमाले अध्यक्ष ओली


बुधबार नेकपा एमाले इलाम जिल्ला समितिले चुलाचुली २ बाह्रगोठेमा आयोजना गरेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पहिलो प्राथमिकता राष्ट्रिय पहिचान निर्माण गर्नु रहेको बताएका छन् ।

पहिचानका नाउँमा राजनीति गर्नेहरुले समाज भड्काएको एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीको आरोप थियो । ‘पहिचानको कुरा गरेर विद्वेष फैलाएर सही ठाउँमा पुग्न सकिँदैन’, उनले भने ।

दलित, जनजाति, मुस्लिम, महिला सबैलाई माथि पुर्याउने काम एमालेले मात्रै गरेको जिकिर गर्दै ओलीले प्रमुख समस्या गरिबी निवारणको भएको दावी गरे । ओलीले भने –‘गरिबी निवारणमा एमाले लागेको छ ।’

इलामेली जनताको आत्मा विश्वासकै कारण सुहाङको जित सुनिश्चित भएको भन्दै ओलीले सत्ताका लागि भइरहने अस्वस्थ प्रतिस्पर्धा रोक्न नयाँ समीकरण र वाम गठबन्धन बनेको दावी गरे ।

एमाले उम्मेद्वार नेम्बाङको समर्थनमा भाषण गर्न चुलाचुली आएका माओवादी नेता हरिबोल गजुरेलले मुलुकमा वाम एकताको आवश्यकता भएको र त्यसको सुरुवात इलाम २ बाट सुहाङको जितसँगै प्रारम्भ हुने दावी गरेका थिए ।

विपक्षीका मनमा ढ्याङ्ग्रो बजेको छ : रास्वपा सभापति लामिछाने


नेपाली जनतालाई दुःख नदिईकन परिवर्तन गर्ने आफूहरुको चाहना भएको दावी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सरकारका गृहमन्त्री रवि लामिछानेले आफूहरुको राजनीतिक हस्तक्षेपले पूराना दलहरुको मनमा ढ्याङ्ग्रो बजेको दावी गरेका छन् ।

‘हामीले बजाएको घण्टी हो, यिनको मनमा ढ्याङ्ग्रो ठोकिएको छ । हामीलाई राम्रोसँग थाहा छ’, इलाम २ को देउमाईमा आयोजित चुनावी सभामा बोल्दै सभापति लामिछानेले भने ।

जनतालाई दुःख नदिई आफूहरुले गरेको आन्दोलनबाट २१ सिटसहितको उपलब्धि हाँसिल गरेको तर्क गर्दै लामिछानेले भने –‘हामीलाई थाहा छ, जनतालाई दुःख दिएर गरिएको आन्दोलनले पनि त आज जे दियो, त्यसबाट जनता सन्तृष्ट हुन सकेनन् ।’

गरिब र धनीका बीचमा आर्थिक हैसियत हेरेर सुविधा प्राप्त हुने अवस्थाको अन्त्य गर्न र सुशासनका लागि काम गर्दै विदेश जान नपरोस् भन्नका लागि रास्वपाले सरकारमा बसेर काम गरिरहेको उनको दावी थियो ।

अनेक अड्कलबाजी चलिरहेको भन्दै लामिछानेले हिजोको कुरा र आजको कुरा फरक भइसकेको भन्दै पूर्वबाट मिलन लिम्बूलाई जिताउन इलाम तयार भइसकेको जिकिर गरे ।

चुनावी सभामा बोल्दै रास्वपा उम्मेद्वार मिलन लिम्बूले भने –‘थोरै थोरै बोलेर धेरै भन्दा धेरै इलामेली जनताको निम्ति काम गर्ने हुटहुटी छ ।’
रास्वपाका उपसभापति डा. स्वणिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, सह प्रवक्ता रमेश प्रसाईंलगायतले बुधबार नै इलाम २ को सुम्बेक र इलाम चोकबजारमा आयोजित सभालाई सम्बोधन गरेका थिए ।

परिवर्तनका लागि मुद्दालाई जिताउनु पर्छ : प्रमुख राई


धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले इलाम २ बाट मुद्दाले जित्नुपर्ने दावी गरेका छन् । पार्टी जित्ने जनता हार्ने परिपाटीलाई दोहोरिन नदिन आग्रह गर्दै प्रमुख राईले आफूले जित्ने हो भने स्वतन्त्रलाई मत हाल्न र जिताउन आग्रह गरेका हुन् ।

स्वतन्त्र भएर उम्मेद्वारी दिएका कारण आफूले सहयोग गर्नुपर्छ भन्ने लागेर डकेन्द्र सिंह लिम्बूलाई सहयोग गरेको जिकिर गरे ।

परम्परागत चुनावी अभ्यास मात्रै नगरेर इतिहास पनि लेखोस् भन्ने अभिष्टाका साथ आफूले डकेन्द्र सिंह लिम्बूलाई समर्थन गरेको प्रमुख राईको भनाइ थियो । ‘जनताको सेवक हुँ भन्छु आफूलाई । भाषण गर्न जान्दिनँ, नेताले जस्तो’, राईले भने ।

मानिसले असम्भव भनेको र अप्ठ्यारो भनेको कुरा गर्नुमा मजा आउने भन्दै उनले आफूहरुले त्यस्तै गाह्रो कामका रूपमा डकेन्द्रसिंह लिम्बूलाई जिताउन लागेको दावी गरे ।

परिवर्तन अरुले ल्याइदिने नभई आफैले ल्याउनुपर्ने भन्दै राईले भने –‘म धारनबाट आएर मत हाल्दिने होइन, मैले मत लगाउन मिल्दैन । तर, परिवर्तन तपाईले मत लगाएर गर्ने हो ।’

पहिचानवादीहरुको चुनावी सभामा पहिचानवादी पार्टीका नेताकार्यकर्ताको बाक्लो उपस्थिति थियो । त्यस्तै विभिन्न जातीय संघसंस्थाका अगुवाहरु अन्तिम चुनावी सभामा सहभागी थिए । त्यस्तै, चुनावी सभालाई थप आकर्षित बनाउन नाम चलेका कालाकारहरुलाई चुनावी सभामा गाउन लगाइएको थियो ।

चुनावी प्रचार प्रसार समयको अन्तिम दिन काँग्रेसले भने कुनै विशेष सभा आयोजना गरेन ।

इलाम २ मा बैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।  गत भदौमा इलाम २ बाट निर्वाचिन प्रीतनिधि सभा सदस्य सुवासचन्द्र नेम्बाङको मृत्यु भएपछि यस निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

यस पटको उपनिर्वाचनमा राजनीतिक दलका १२ र स्वतन्त्र ७ सहित १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।  १ लाख १५ हजार ८८९ मतदाताले मतदान गर्दैछन् ।

 

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु